• Thursday 22nd of October 2026

दशकभन्दा पुराना साथी हुन् बालेन र सुदन,जेनजीमाथि ‘स्क्याम’काे आशंका


  • धनकुटा खबर
  • .

काठमाडौ । जेनजी आन्दोलनको पहिलो दिन (भदौ २३) गते बिहान ९ बजेतिर माइतीघर पुगेका ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका संस्थापक सुदन गुरुङलाई सञ्चारकर्मीले सोधेका थिए, ‘तपाईंहरु यहाँ किन ?’

उनले जवाफ दिए, ‘यो भ्रष्टाचारविरुध्द जेनजीको आन्दोलन हो,हामी यहाँ स्वयंसेवकको रुपमा आएका हौं । मेडिकल टिम र पानीहरु ल्याएर म्यानेज गरिदिएका छौँ हामी अर्गनाइजर होइनौँ ।’

त्यतिबेला सबल गौतम,मिराज ढुंगाना, पुरुषोत्तम यादव,रुपा चौलागाईँ, खेमराज साउद,भावुक पोख्रेल,आदित्य श्रेष्ठहरु प्रदर्शनको अग्रपंक्तिमा देखिएकाले सुदनसहितका युवाहरुलाई नागरिकले स्वयंसेवककै रुपमा लिएका थिए ।

सोही दिन अपरान्ह प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्दै संसद भवन पुगेर आगो झोसेपछि प्रहरीले गोली चलायो, जसकारण १९ जनाको मृत्यु भयो । त्यो घटनापछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै फेसबुकमा लेखिहाले, ‘तेरो भरौटेहरुको पो बा भइस्….तँ नेता त के, मान्छे पनि बन्न सकेनस्,आतंकवादी होस्।’

झ्वाट्ट हेर्दा, बानेश्वर घटनाको कारण बालेनले प्रधानमन्त्रीमाथि आक्रोश पोख्दै जेनजी युवाहरुलाई समर्थन गरेको देखिन्छ । तर पछिल्लो समय घटनाक्रम विकसित हुँदै जाँदा प्रदर्शनको अग्रपंक्तिमा देखिएका जेनजी युवाहरु एकाएक गायब हुनु,आफूलाई प्रदर्शनको ‘स्वयंसेवक’ मात्रै बताएका सुदन नेतृत्वमा देखिनु र बालेनकै चाहना बमोजिम संसद विघटन हुने परिस्थिति सिर्जना हुनुले यतिबेला आन्दोलनमाथि नै ठूलो ‘स्क्याम’ भएको विश्लेषण गर्न थालिएकाे छ ।

बताइएअनुसार बालेन र सुदन एक दशकभन्दा पुराना साथी हुन् । चर्चित र्यापर यम बुद्ध (जसको मृत्यु भइसकेको छ) नेतृत्वको ‘र बार्ज’ले नेपालमै पहिलोपल्ट आयोजना गरेको र्याप ब्याटलमा सहभागी भएर बालेनले चर्चा पाउँदै गर्दा सुदन ठमेलका नाइट क्लबहरुमा डिजेको काम गर्थे । डिजे कामबाट अच्छाखासा पैसा कमाएपछि सुदनले ‘ओएमजी’ नामक क्लबमा लगानी गरे । अहिले बन्द भइसकेको उक्त क्लबका एक पूर्व कर्मचारी भन्छन्, ‘सुदन सुरुमा डिजे नै हो, पछि शेयर होल्डर बनेको हो ।’

स्मरण रहोस् कि, र्यापर र डिजे एकअर्कासँग अन्तरसम्बन्धित पेशा हुन् । डिजेले नाइट क्लबमा मदिराले लठ्ठ भीडलाई उत्साहित बनाउन मनस्थिति अनुसारको धुन सिर्जना गर्छ, भने र्यापरले त्यही धुनमा आफ्नो शब्द भर्ने काम गर्छ । यसकारण पनि बालेन र सुदनको सम्बन्धलाई अस्भाविक मान्न सकिदैँन । त्यही निकटताले उनीहरु ०७२ सालको भूकम्पपछि पनि सँगै रहेर थुप्रै क्याम्प र अभियान चलाए ।

तर भदौ २३ र २४ गतेको आन्दोलन कसको थियो ? बालेन (३५ वर्ष) र सुदन (३६वर्ष) को ? वा जेनजी (२८ वर्षमुनि)हरुको ? बालेन र सुदनले नियोजित रुपमै ‘नेपो किड्स’ ट्रेण्डिङको मौका उठाएर जेनजीहरुमाथि स्क्याम गरेका त हैनन् ? आम नागरिकले प्रश्न गर्न थालेका छन् ।-खोज केन्द्र न्यूज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖