काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको बैठकले करिव २ दर्जन निर्णय गरेको छ । सिंहदरबारमा बसेको सचिव बैठकले देशको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि २१ वटा निर्णय गरेको हो ।
बैठकले नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय र कार्यालयमा रहेका दरबन्दीको औसत २० प्रतिशत कटौती गरी संशोधित संरचना स्वीकृतिका लागि २०८२ आश्विन २० गतेभित्र मन्त्रिपरिषदमा पेश गर्ने निर्णय गरेको छ ।
सार्वजनिक खर्चमा मितव्ययिता ल्याउन कार्यालयले गर्ने सबै कार्यक्रमहरू सरकारी भवन तथा हलमा आयोजना गर्न निर्देशन दिएको छ।
यस्तै, सिंहदरबारमा रहेका मन्त्रालय तथा निकायहरूले अनावश्यक रूपमा यस अघि जारी गरेका प्रवेश पासहरू सबै खारेज गर्ने भएको छ। आवश्यक परेको खण्डमा नयाँ पासहरू उपलब्ध गराइने जनाइएको छ।
सार्वजनिक खर्चमा मितव्ययिता ल्याउन बैठकले कर्मचारी भत्ता नलिनु, राष्ट्रिय स्तरका गोष्ठी, सेमिनार तथा कार्यशालाको आयोजना सरकारी भवनमा मात्र गर्ने निर्देश जारी गरेको छ। साना आयोजना (टुक्रे आयोजना)को रकम क्षतिग्रस्त संरचना मर्मत र उपकरण खरिदमा पुनः प्रयोग गरिने व्यवस्था मिलाइएको छ ।
