जेनजी आन्दोलनपछि देखिएको अस्थिर परिस्थितिको फाइदा उठाउँदै केही व्यक्तिहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र यसको नेताहरूको नाम प्रयोग गरी उद्योगी–व्यवसायी, न्यायालय र उच्च पदस्थ कर्मचारीलाई फोन तथा सन्देशमार्फत धम्की दिइरहेको खुलासा भएको छ।
पार्टीका प्रवक्ता मनिष झाले बिहीबार विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिमा रास्वपाको कुनै संलग्नता नरहेको प्रष्ट पार्दै सम्बन्धित निकायलाई छानबिन तथा कारबाहीका लागि ध्यानाकर्षण गराएका छन्।
झाले विज्ञप्तिमा भनेका छन्, “जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छित व्यक्ति तथा समूहले रास्वपाको नाम बजाएर विभिन्न क्षेत्रमा डर–त्रास फैलाउने प्रयास गरिरहेका छन्। यस्ता गतिविधिमा रास्वपाको कुनै हात छैन। हामीले यसबारे गम्भीर ध्यानाकर्षण गराएका छौं।”
रास्वपाले यस्ता धम्कीपूर्ण गतिविधि पार्टीको सिद्धान्तविपरीत रहेको उल्लेख गर्दै दोषीलाई तत्काल पहिचान गरी कानुनी कारबाही गर्न आग्रह गरेको छ।
