राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले चार बुँदे निर्णय सार्वजनिक गरेको छ। बिहीबार बसेको बैठकपछि जारी विज्ञप्तिमा हालैको जेनजी आन्दोलन, प्रवासी नेपालीको मतदान अधिकार, पार्टीको केन्द्रीय समिति बैठक र महाधिवेशनबारे निर्णय गरिएको उल्लेख छ।
विज्ञप्तिअनुसार भदौ २३ गते जेनजी पुस्ताले नेतृत्व गरेको शान्तिपूर्ण प्रदर्शनप्रति पार्टीको विभिन्न तहबाट नैतिक ऐक्यबद्धता रहेको स्पष्ट पारिएको छ। तर तोडफोड र लुटपाट रास्वपाको राजनीतिक संस्कृति नभएको भन्दै पार्टीले ‘सद्भाव तथा सहकार्य अभियान’ प्रारम्भ गर्ने घोषणा गरेको छ। पार्टी प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘असहमतिलाई बैमनस्यताबाट होइन, संवाद र सहिष्णुताबाट समाधान गर्ने हाम्रो दृढ प्रतिबद्धता फेरि पनि जाहेर गर्दछौं।’
त्यस्तै, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिने विषयमा वर्तमान सरकारले देखाएको चासोलाई पार्टीले स्वागत गरेको छ। रास्वपाले प्रवासी नेपालीको मतदाता नामावली दर्ता प्रक्रिया पूर्णरूपमा अनलाइनबाट गर्ने व्यवस्था मिलाउनुपर्ने र विमानस्थलसहित दूतावास/कन्सुलेटहरूबाट बायोमेट्रिक सेवा उपलब्ध गराउनुपर्ने प्रस्ताव गरेको छ।
बैठकले पार्टीको केन्द्रीय समितिको बैठक असोज ७ गते केन्द्रीय कार्यालयमा बोलाउने निर्णय गरेको छ। सो बैठकमा पार्टीको आगामी कार्यदिशा र विस्तारित बैठकबारे प्रस्ताव पेस गरिने बताइएको छ।
यस्तै, रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशन फागुन ७, ८ र ९ गते आयोजना गर्ने पूर्वनिर्धारित कार्यक्रम रहे पनि सरकारले फागुन २१ गते आम निर्वाचन घोषणा गरेकाले यसबारे आवश्यक छलफल र निर्णय आगामी विस्तारित बैठकले गर्ने प्रवक्ता झाले जानकारी दिए ।
