• Wednesday 7th of October 2026

सिक्किम बाढी : एक सातादेखि इलामका चार जना सम्पर्कविहीन


  • धनकुटा खबर
  • .

इलामबाट रोजगारीको लागि भारतको सिक्किम पुगेका केही नेपाली विगत एक सातादेखि सम्पर्कबिहीन बनेका छन्। इलाम नगरपालिका ९ का उनीहरु यही असोज १६ गतेदेखि परिवारको सम्पर्कमा नआएका इलाम ९ का वडाध्यक्ष गोपाल चौहानले जानकारी दिए। यहि असोज १६ गते सिक्किमको टिस्टा नदीमा भिषण बाडी आउँदा १४ जना भन्दा धेरैको मृत्यु भएको छ भने सयौँ मानिस हराइरहेका छन्। बाढीबाट २० हजारभन्दा धेरै मानिस प्रभावित बनेका छन्।

एक सातादेखि सम्पर्कमा नआएका नेपाली पनि बाढीमा परेको हुनसक्ने आशंका गर्न थालिएको छ। ‘हिजोसम्म १० जना नेपाली सम्पर्कमा नभएको जानकारी हामीलाई आफन्त र छिमेकीबाट आएको थियो,’चौहानले मंगलबार बिहान नेपालखबरसँग भने, ‘हामीले यताबाट रोजागरीको लागि सिक्किम गएका को को सम्पर्कमा छैनन् भनेर खोजी गर्दा हराएका भनिएका ६ जना सम्पर्कमा आइसकेको जानकारी पायौँ। चार जना भने अझै परिवारको सम्पर्कमा आउनु भएको छैन। उहाँहरुको अवस्थाको विषयमा हामी थप बुझ्ने प्रयास गरिरहेका छौँ।’

सम्पर्कमा नआएका नेपालीहरुको विषयमा जानकारी लिन मंगलबार बिहान वडा कार्यालयले आफन्त र सरोकारवालासहितको बैठक बोलाएको थियो। त्यो बैठकमा पनि यस विषयमा छलफल भएको वडाध्यक्ष चौहानले बताए।

‘बैठकमा उपस्थित भएका केही स्थानीयले अझै आफ्नो परिवारका चारजना सम्पर्कमा नआएको जानकारी गराउनु भएको छ,’ उनले भने, ‘पीडित परिवारले सम्पर्कमा नरहेका आफन्तको खोजी सिक्किममै रहेका आफन्तको माध्यमबाट गर्ने र हामीले पनि त्यसमा सहयोग गर्ने निर्णय भएको छ।’

इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार इलामका सेनबहादुर कार्की र लाक्पा शेर्पा बेपत्ता भएको जानकारी आफन्तबाट स्थानीय प्रशासनलाई प्राप्त भएको छ। तर, उनीहरुको विषयमा सिक्किम प्रशासनबाट कुनै जानकारी पाउन नसकिएको उनले बताए।

टिस्टा नदिमा आएको बाढीले टेलिफोन र विद्युतसमेत अवरूद्ध गरेकाले सिक्किममा सम्पर्क स्थापित हुन नसकेको स्थानीय प्रशासनले जनाएको छ।

इलाम नगरपालिकाका मेयर केदार थापाले सम्पर्कमा नरहेका नागरिकको खोजीको लागि वडाध्य चौहानमार्फत् पहल भइरहेको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय इलामका एसपी बासुदेव खतिवडाले भने अहिलेसम्म सिक्किमको बाढीमा इलामका मानिस हराएको विषयमा आफूहरुलाई कुनै औपचारिक जानकारी नआएको बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖