काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले युट्युब च्यानलमा आफ्नो जीवनको उपहास गर्ने र व्यक्तिगत मानहानि गर्ने ‘इन्फ्लुएन्सरहरू’ प्रति आक्रोश व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोस्ट जारी गरेका छन्।
लामिछानेले विशेष गरी प्याराडाइम टीभी नामक युट्युब च्यानललाई लक्षित गर्दै, उक्त च्यानलले आफूविरुद्ध बनाएको सामग्री ‘पूर्ण रूपमा षड्यन्त्रकारी’ रहेको र यसको उद्देश्य आफ्नो व्यक्तिगत जीवन, प्रतिष्ठा र गोपनीयतालाई जानीजानी क्षति पुर्याउने रहेको आरोप लगाएका छन्।
उनले लेखेका छन्, ‘तपाईं जुनसुकै खण्डको लागि जसलाई चाहनुहुन्छ, छनोट गर्न सक्नुहुन्छ, तर युट्युब च्यानलको कुर्सीमा बसेर कसैको जीवनको उपहास वा खिल्ली उडाउनु— तथाकथित इन्फ्लुएन्सरहरू, तपाईँहरूलाई लाज लाग्नुपर्छ।’
लामिछानेले उक्त च्यानलले आफ्नो मानसिक शान्ति र प्रतिष्ठामा हानि पुर्याउन व्यक्तिगत चरित्र हत्या गर्ने योजना बनाएर कार्यान्वयन गरेको बताएका छन्। उनले यस कार्यलाई “गहिरो आपत्तिजनक कार्य” को रूपमा लिँदै यसलाई दुर्भावनापूर्ण मनसायका साथ आफूलाई मनोवैज्ञानिक दबाबमा पार्ने र आफ्नो निर्दोष जीवन र खेल करियरको शोषण गरेर च्यानललाई व्यापारीकरण गर्ने अवैध उद्देश्य भएको दाबी गरेका छन्।
उनले ‘प्याराडाइम टीभी’ र उक्त च्यानलमा आफ्नो ‘चरित्र हत्या प्रयास‘ गर्न स्थान दिइएका व्यक्तिहरूलाई चेतावनी दिँदै लेखेका छन्, ‘फेरि कहिल्यै आफ्नो सीमा नाघ्ने हिम्मत नगर्नुहोस्।’
