विराटनगर, असोज २४ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले पाए दलका नेता उद्धव थापा नै कोशीको मुख्यमन्त्री हुने बताएका छन् ।
आफूलाई मुख्यमन्त्री बनाउनुपर्ने प्रस्ताव लिएर भेट गर्न पुगेका कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीलाई सभापति देउवाले यस्तो जवाफ दिएर पठाएका हुन् ।
देउवाले अहिलेको परिस्थितिमा दलका नेता नै मुख्यमन्त्री हुनुपर्ने बताएको पराजुलीले बताए । दलको नेता नहुने परिस्थिति हुँदा सहयोग गरियोस् भन्ने आफ्नो प्रस्तावबारे देउवाले पार्टीका नेताहरूसँग छलफल गर्छु भन्ने जवाफ पाएको उनले बताए ।
उनले आफूले पनि राप्रपासँग निर्णायक वार्ता गरेर अगाडि बढ्नुपर्ने सुझाव दिएको बताए । राप्रपा मानेन भने मध्यावधिमा नजानका लागि एमालेसँग पनि सल्लाह गरेर जान सकिन्छ भनेर आफूले विकल्प सुझाएको उनले बताए ।
कोशी प्रदेश सरकार बनाउने अन्तिम विकल्पको रूपमा रहेको संविधानको धारा १६८ (५) को अन्तर्गत सरकार बनाउन नेताहरूको दौडधुप चलिरहेको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री दाबी गर्न दिएको समयसीमा शुक्रबार सकिँदैछ । बहुमतका लागि कम्तीमा ४७ जना प्रदेशसभा सदस्यको साथ चाहिन्छ ।
कोशीमा नेकपा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीका एक जना सांसद छन् ।
