• Monday 5th of October 2026

‘गलत एङ्गल’बाट प्रेमिकाको फोटो खिचेपछि …


  • धनकुटा खबर
  • .

काठमाडौँ । भारतीय क्रिकेट टोलीका अलराउन्डर हार्दिक पाण्ड्याले आफ्नी प्रेमिका माहिका शर्माको तस्बिरहरूलाई लिएर सामाजिक सञ्जालमा गहिरो असन्तुष्टि व्यक्त गरेका छन् ।

मुम्बईको बान्द्रा इलाकास्थित एक रेस्टुरेन्टको सिँढीबाट माहिका तल ओर्लिरहेका बेला केही पापाराजीहरूले गलत एङ्गलबाट तस्बिर खिचेपछि हार्दिकले आपत्ति जनाएका हुन् ।

हार्दिकले इन्स्टाग्राम स्टोरीमा एउटा लामो नोट लेख्दै भनेका छन्, ‘म बुझ्छु कि पब्लिक फिगर हुनुको अर्थ मानिसहरूको ध्यान ममाथि केन्द्रित हुन्छ र मेरा हरेक गतिविधिहरू नियालिन्छन्। यो मेरो काम र जीवनको हिस्सा हो, तर आज जे भयो, त्यो बिल्कुल गलत थियो ।’

उनले घटनाको विवरण दिँदै भनेका छन्, ‘माहिका सिँढीबाट ओर्लिरहेकी थिइन्, त्यही बेला केही फोटोग्राफरहरूले गलत कोणबाट उनको तस्बिर खिचे। कुनै पनि महिलाको तस्बिर यसरी लिनु हुँदैन। यो एउटा निजी क्षण थियो, जसलाई सस्तो प्रचारको विषय बनाइयो ।’

हार्दिकले मिडिया र फोटोग्राफरहरूलाई महिलाप्रति बढी सम्मान देखाउन अपील गरेका छन्। उनले भनेका छन्, ‘यो कुरा केवल समाचार बनाउने वा पहिले फोटो खिच्ने मात्र होइन, कुरा आधारभूत सम्मानको हो। हरेक महिलाले इज्जत र मर्यादा पाउनुपर्छ। सबैको आफ्नो सीमा हुन्छ ।’

उनले मिडियाको कामको सम्मान गर्ने तर उनीहरूसँग ‘थोरै ध्यान राख्न र सम्मान देखाउन’ आग्रह गरे। ‘हरेक कुरालाई क्यामेरामा कैद गर्नु जरुरी छैन। हरेक कोण फोटोको लायक हुँदैन। यो काममा मानवता पनि आवश्यक छ,’ उनले थपे ।

हार्दिकले आफ्नो पोस्टको अन्त्यमा तस्बिर खिच्नुअघि एकपटक सोच्न मिडियालाई आग्रह गर्दै धन्यवाद दिएका छन् ।

हार्दिक र माहिकाको सम्बन्ध

हार्दिक र माहिकाको सम्बन्ध यो वर्षको अक्टोबरमा सार्वजनिक भएको थियो। केही महिनाअघि उनीहरूको सम्बन्धको चर्चा सामाजिक सञ्जालमा सुरु भएपछि हार्दिकले इन्स्टाग्राममा धेरै तस्बिरहरू साझा गरेका थिए ।

हार्दिकले ‘माई बिग ३’ शीर्षकमा एक पोस्ट पनि सेयर गरेका थिए, जसमा उनले आफ्नो जीवनका तीन सबैभन्दा महत्त्वपूर्ण सम्बन्धहरूः क्रिकेट, छोरा अगस्त्य र माहिका को उल्लेख गरेका थिए ।

पोस्टमा उनीहरू पूजा गरिरहेको, हार्दिकले माहिकालाई मायाले गालामा चुम्बन गरिरहेको र उनलाई काखमा उठाएर मुस्कुराइरहेको तस्बिरहरू समावेश थिए ।

स्मरण रहोस्, हार्दिक पाण्ड्याले सन् २०२४ मा सर्बियाली मोडल नताशा स्टेनकोविचसँग आपसी सहमतिमा सम्बन्धविच्छेद गरेका थिए ।

सन् २०२० को कोभिड–१९ लकडाउनका बेला भेटेर सोही वर्ष विवाह गरेका उनीहरूबाट सन् २०२० जुलाई ३० मा छोरा अगस्त्यको जन्म भएको थियो। हार्दिक र नताशा मिलेर अगस्त्यको पालनपोषण गरिरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖