• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

रास्वपा समानुपातिकबाट मिलन लिम्बूले पनि लिए नाम फिर्ता


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मिलन लिम्बूले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै उनले समानुपातिक सूचीबाट बाहिरिने निर्णय घोषणा गरेका हुन्।

लिम्बू रास्वपाले निर्वाचन आयोगमा बुझाएको ११० सदस्यीय समानुपातिक बन्दसूचीअन्तर्गत आदिवासी जनजाति क्लस्टरको छैटौँ नम्बरमा समावेश थिए। उनले संविधानले सुनिश्चित गरेको समानुपातिक तथा समावेशी प्रणालीप्रति पार्टीको प्रतिबद्धताका आधारमा पार्टी नेतृत्वसँगको परामर्शपछि नै उम्मेदवारी दिएको स्पष्ट पारेका छन्।

वक्तव्यमा उनले पार्टीमा एकताबाट आएका साथीहरूलाई पनि समुचित रूपमा व्यवस्थापन गर्नुपर्ने नेतृत्वको बाध्यतालाई आफूले बुझेर सहजीकरण गरेको उल्लेख गरेका छन्। बन्दसूची तय गर्ने क्रममा सिर्जित परिस्थितिले पार्टीका नेता–कार्यकर्ता र सदस्यहरूको भावनामा परेको प्रभावलाई आत्मसात् गर्दै आफूले नाम फिर्ता लिने निर्णय गरेको लिम्बूको भनाइ छ।

उनका अनुसार यो निर्णय व्यक्तिगत अवसर वा पदका लागि होइन, पार्टीको दीर्घकालीन हित, आन्तरिक एकता र सामूहिक भावनाको सम्मानका लागि लिइएको सचेत र जिम्मेवार राजनीतिक कदम हो। उनले राजनीति पद प्राप्तिको माध्यम मात्र नभई विचार, मूल्य र सबै कार्यकर्ताको भावना समेट्दै अघि बढ्ने साझा अभियान भएको उल्लेख गर्दै सोही यात्रामा आफू निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मिलन लिम्बू रास्वपाले गरेको प्राथमिक निर्वाचन (प्राइमरी) प्रक्रियामार्फत चयन भएका उम्मेदवार थिए। उक्त प्रक्रियामा आफूलाई उच्च मत दिएर विश्वास व्यक्त गर्ने पार्टी नेतृत्व, कार्यकर्ता र शुभेच्छुकहरूप्रति उनले आभार प्रकट गरेका छन्।

लिम्बूसँगै रास्वपामा हालसम्म सात जनाले समानुपातिक बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। यसअघि डा. अरनिको पाँडे, सचिन ढकाल, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ शाहलगायतले पनि समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गरिसकेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖