राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा एकै दिन ३३ जना केन्द्रीय सदस्य थपिएपछि पार्टीभित्र असन्तोष र आलोचना तीव्र बनेको छ। तीमध्ये वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को कोटाबाट मनोनयन गरिएका २६ जनाको नाम सार्वजनिक भएपछि पार्टी पंक्तिमा व्यापक चर्चा र प्रश्न उठेका छन्।
हिजो बसेको केन्द्रीय कमिटी बैठकले सुरुमा विवेकशील साझाबाट आएका सात जना र त्यसपछि बालेनको कोटाबाट २६ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको थियो। विवेकशील साझाबाट आएका नामहरू तुलनात्मक रूपमा स्वीकार्य मानिए पनि बालेनको कोटाबाट आएका अधिकांश नामप्रति पार्टीभित्रै असन्तुष्टि देखिएको छ।
रास्वपाका केही नेताहरूका अनुसार बालेनको सूचीमा बलियो राजनीतिक पृष्ठभूमि वा बौद्धिक छवि भएका व्यक्ति कम देखिन्छन्। धेरैजसो नामहरू पार्टीभित्र अपरिचित रहेका र बालेनसँग व्यक्तिगत सम्बन्ध नजिक भएका व्यक्तिहरू रहेको आरोप छ। केही नेताहरूले त केन्द्रीय सदस्यमा मनोनयन गरिएका व्यक्तिहरू वडा सदस्यसमेत जित्न सक्ने हैसियतका छैनन् भन्ने टिप्पणी गरेका छन्। पार्टी नेतृत्वले योग्यताको मूल्यांकन नगरी केवल संख्या बढाउने उद्देश्यले मनोनयन गरेको गुनासो पनि उठेको छ।
बालेनको कोटाबाट आएका २६ जनामध्ये चार जना उनको सचिवालयमा कार्यरत व्यक्ति हुन्। बालेनका भौतिक पूर्वाधार सल्लाहकार सुनील लम्साल, प्रमुख स्वकीय सचिव भूपदेव, एसोसिएट एक्सपर्ट सस्मित पोखरेल र सचिवालयमा काम गरिसकेका सन्तोष गिरी केन्द्रीय सदस्य बनेका छन्। उनीहरूमध्ये अधिकांशसँग औपचारिक राजनीतिक अनुभव छैन। सुनील लम्साललाई रास्वपाको महामन्त्री बनाउने चर्चा चलेको विषयले पनि पार्टीभित्र थप तरंग ल्याएको छ।
केन्द्रीय सदस्य बनेकामध्ये डा. नमिता यादवलाई केही हदसम्म राजनीतिक पृष्ठभूमि भएको मानिन्छ। उनी सिरहाकी पूर्वउपमेयर हुन् र एमाले हुँदै पछिल्लोपटक ‘हाम्रो पार्टी नेपाल’ मा सक्रिय थिइन्। सो पार्टी रास्वपामा विलिन भएपछि उनी बालेनको कोटाबाट केन्द्रीय सदस्य बनेकी हुन्। यसबाहेक केपी खनाल, सागर ढकाल, गणेश पौडेललगायत नामहरू पनि सूचीमा छन्, जसलाई पार्टीभित्र ‘हाइप्रोफाइल’ मान्नुपर्ने अवस्था रहेको टिप्पणी गरिएको छ।
बालेनको सूचीमा सात जना जेन–जी अभियन्ताहरू पनि समावेश छन्। उनीहरूमध्ये केही सुधन गुरुङ समूहसँग सम्बन्धित छन्। यस्तै, कलाकार लक्ष्मी बर्देवा, सञ्चारकर्मी सरीता ज्ञवाली, अर्थविज्ञ सुशान्त वैदिकलगायत पनि केन्द्रीय सदस्य बनेका छन्। यद्यपि, चर्चित जेन–जी अभियन्ता रक्षा बम भने रास्वपामा नआएको बताइएको छ।
केन्द्रीय सदस्य बनेका केही नामहरू विवादास्पद पनि छन्। लक्ष्मण थारु टिकापुर हत्याकाण्डमा दोषी ठहर भई सजाय काटिसकेका व्यक्ति हुन्। अर्का खगेन्द्र सुनारविरुद्ध पनि विभिन्न मुद्दा विचाराधीन छन्। यस्ता पात्रहरूलाई केन्द्रीय समितिमा ल्याइएको विषयले पार्टीको छवि र भविष्यप्रति गम्भीर प्रश्न उठाएको छ।
समग्रमा, रास्वपाले केन्द्रीय समिति विस्तारमार्फत पार्टी ठूलो बनाउने प्रयास गरे पनि योग्यता, राजनीतिक पृष्ठभूमि र नैतिक मापदण्डका सवालमा पार्टीभित्रै आलोचना बढेको छ। यो निर्णयले पार्टीको आन्तरिक एकता र सार्वजनिक विश्वसनीयतामा कस्तो असर पार्छ भन्ने विषय आगामी दिनमा थप स्पष्ट हुँदै जाने देखिन्छ।
