काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन मागकर्ताहरूले मृत्यु भइसकेका महाधिवेशन प्रतिनिधिको पनि हस्ताक्षर प्रयोग गरेको पाइएको छ । उनीहरूले सर्लाहीको हरिपूर्वा नगरपालिका नगरपालिका–५ हरिपूर्वा स्थायी ठेगाना भएका महाधिवेशन प्रतिनिधि उपेन्द्र रामको हस्ताक्षर प्रयोग गरेका छन् ।
तर उपेन्द्रको गत असोज २४ गते नै निधन भएको उनका छोरा चन्दन रामले जानकारी दिए । ‘बुबाको गत असोज २४ गते निधन भएको हो,’ चन्दनले रातोपाटीसँग भने, ‘हिजो कांग्रेसका पूर्व जिल्ला सभापति लक्ष्मण सर आउनुभएको थियो । हामी विशेष महाधिवेशनका पक्षमा छैनौँ भन्यौँ ।’
उनले विशेष महाधिवेशनको पक्षमा कसरी हस्ताक्षर गरियो भन्नेबारेमा आफूलाई कुनै जानकारी नरहेको बताए । ‘म त जागिर गर्ने मान्छे, बुबाको हस्ताक्षर कसरी र कहिले गरियो यसबारे कुनै जानकारी भएन,’ रामले भने ।
उनको परिवारले बाबुको हस्ताक्षर फिर्ता लिएको पत्र बुधबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सम्बोधन गरेर पठाएको छ ।
आफ्नो बुबा पहिल्यैदेखि कांग्रेसमा रहेको उनले बताए । परिवारमा बुबा र आमा कांग्रेसको क्रियाशील सदस्य रहेको चन्दनको भनाइ छ । उनीहरू सामान्य खेती किसानी गर्ने परिवार हुन् ।
