• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

जसपा नेपाल र लोसपाले छुट्टाछुट्टै उम्मेदवारी दिएपछि गठबन्धनभित्र आशंका


  • धनकुटा खबर
  • .

जनकपुरधाम । मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले राष्ट्रियसभा निर्वाचनका लागि छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएपछि कांग्रेस-एमालेसहितको गठबन्धनमा आशंका उत्पन्न भएको छ ।

मधेस प्रदेशमा कांग्रेस, एमाले र जसपा नेपालको समर्थनमा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । तर जसपा नेपालले बाँकी तीन सिटमा छुट्टै उम्मेदवारी दर्ता गराएपछि कांग्रेस–एमालेसहितको गठबन्धनभित्र असन्तुष्टि र संशय बढेको छ ।

लोसपा नेपालका तर्फबाट अध्यक्ष ठाकुरले एक क्लस्टरमा उम्मेदवारी दर्ता गराउँदा जसपा नेपालले अन्य तीनवटा क्लस्टरमा अलग–अलग उम्मेदवारी दर्ता गराएको छ । जसपा नेपालका नेता शैलेन्द्रप्रसाद साह मधेस प्रदेशमा कांग्रेस र एमालेसँगको गठबन्धनका लागि दुई सिट माग गरिएको, तर सम्बोधन नभएपछि बाँकी सिटमा छुट्टै उम्मेदवारी दिनुपरेको बताउँछन् । उनका अनुसार कांग्रेस र एमालेले एक सिट अझै दिन राजी भए बाँकी दुई उम्मेदवारी फिर्ता पनि हुनसक्छ ।

लोसपा नेपालका प्रवक्ता आभास लाभले जसपा नेपालसँगको एकता प्रक्रिया अन्तिम चरणमा रहे पनि सिट बाँडफाँटको टुंगो नलाग्दै राष्ट्रियसभा निर्वाचनको मनोनयन प्रक्रिया सुरु भइसकेकाले ठाकुरको उम्मेदवारी दर्ता गराइएको बताए । यसले एकता प्रक्रियामा कुनै समस्या नआउने दाबी गर्दै उनले जसपा नेपालका साथै एमाले र कांग्रेसको पनि ठाकुरलाई समर्थन रहने बताए ।

प्रवक्ता लाभले जसपा नेपालले छुट्टै उम्मेदवारी दर्ता गराएको विषयलाई विवादको रूपमा नहेरी राजनीतिक कारणका रूपमा बुझ्नुपर्ने बताए । अध्यक्ष ठाकुरलाई पटक–पटक उम्मेदवार बनाइएको विषयमा उनले भने, ‘महन्थ ठाकुर एक ब्रान्ड हुन् । उनको पथप्रदर्शनमा पार्टीका नेता–कार्यकर्ताहरू अघि बढ्नु गौरवको विषय हो ।‘

राष्ट्रियसभा निर्वाचनका लागि मधेस प्रदेशमा जसपा नेपालबाट तीन जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा अल्पसंख्यकतर्फ शैलेश चौधरी, महिलातर्फ चन्दा साह र दलिततर्फ चमेली देवी दास छन् । उम्मेदवारमध्ये चौधरी सप्तरीका हुन् भने साह सिरहा र दास धनुषाकी हुन् ।

पुस १३ गते जसपा नेपाल र लोसपा नेपालबिच पार्टी एकता गर्ने घोषणा भएपनि त्यसको भोलिपल्ट प्रतिनिधिसभा निर्वाचनका लागि दुवै दलले निर्वाचन आयोगमा छुट्टाछुट्टै समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖