काठमाडौ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण प्रकरणलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ। फर्जी आयोजक र फर्जी निमन्त्रणा पत्रका आधारमा मन्त्रिपरिषद्बाट अमेरिका भ्रमण स्वीकृत गराइएको दाबी गर्दै उजुरी दर्ता गरिएको हो।
मुलुक बचाउने नागरिक (ममुबना) अभियानका प्रमुख युवराज सफलले अख्तियारमा उजुरी दर्ता गराउँदै मन्त्री गुप्ताले आफ्नो पदको दुरुपयोग गरी सामूहिक रूपमा अमेरिका जाने प्रयास गरेको आरोप लगाएका छन्।
उजुरीमा आगामी माघ ३ गते अमेरिकामा आयोजना हुने भनिएको ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन’ कार्यक्रमसम्बन्धी आयोजक नेपाल सरकार, अमेरिकी सरकार वा नेपाली दूतावासको कुनै पनि आधिकारिक अभिलेखमा नरहेको उल्लेख गरिएको छ।
उजुरीकर्ताले उक्त भ्रमणलाई संगठित मानव तस्करीसँग समेत जोडेर गहिरो अनुसन्धानको माग गरेका छन्। साथै अमेरिका भ्रमण स्वीकृतिसँग सम्बन्धित मन्त्रिपरिषद्को निर्णय, प्रयोग गरिएको निमन्त्रणा पत्र, आयोजक संस्थाको कानुनी वैधता तथा भ्रमण टोलीको सम्पूर्ण विवरण झिकाएर छानबिन गर्नुपर्ने माग उजुरीमा उल्लेख गरिएको छ।
अख्तियारमा दर्ता उजुरीमा दोषी ठहरिएमा मन्त्री गुप्तामाथि मानव तस्करीसम्बन्धी अभियोगसमेत लगाएर कारबाही गर्न र अनुसन्धानको अवधिभर मन्त्री पदबाट निलम्बन गर्नुपर्ने मागसमेत गरिएको छ।
