काठमाडौं। गायिका एलिना चौहानले आफ्नो पैसा नदिने व्यक्तिहरुको फोटो सार्वजनिक गर्ने चेतावनी दिएकी छिन्। धेरै सम्झाएर समय दिदा पनि आफूले काम गरेको पैसा नदिएपछि एलिनाले उक्त व्यक्तिहरुको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्न लागेकी हुन्।
एलिनाले ती व्यक्तिहरुको तस्बिर सार्वजनिक गर्नुअघि आफ्नो आधिकारिक फेसबुक पेजबाट एक स्टाट्स लेख्दै जानकारी गराएकी छिन्। आफ्नो पैसा रोकिदिएका सबै व्यक्तिहरुलाई उनले फेसबुकबाटै एक हप्ताको समय पनि दिएकी छन्।
उनले लेखेकी छिन्,‘सम्झाइयो। समय दिइयो। अब अन्तिम मौका। १ हप्तापछि पैसा नदिने महानुभावहरू फोटो सहित आउँदै हुनुहुन्छ। ओके बाइ।’
एलिना अहिलेकी चर्चित गायिकामध्येकी एक हुन्। उनी प्रष्ट र सिधा बोल्ने गायिकाको रुपमा चिनिन्छिन। आफुलाई मनमा लागेको कुरा फ्याट्टै भन्ने गर्छिन्।
यो तस्बिर सार्वजनिक गर्ने शैली उनले पहिला पनि एकपटक अपनाइसकेकी छिन्। आफ्नो छुटिसकेको वैवाहिक जिवनलाई लिएर आफुलाई सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्नेहरुको उनले कमेन्टसहित तस्बिरहरु सार्वजनिक गरेकी थिईन। जसकारण उनलाई नकारात्मक टिप्पणी गर्नेहरुको संख्या ह्वात्तै घट्को थियो।
यसपटक उनले के गर्छिन, त्यो भने एक हप्तापछि थाहा हुनेछ।
