• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

चितवनमा चुनाव लड्न अनिच्छुक एमाले नेता


  • धनकुटा खबर
  • .

चितवन । नेकपा (एमाले) को हालै सम्पन्न भएको ११ औँ महाधिवेशनबाट चितवनका ८ नेता केन्द्रीय सदस्यमा निर्वाचित भए । उपाध्यक्षमा रामबहादुर थापा बादल विजयी हुँदा महासचिवमा सुरेन्द्र पाण्डे पराजित बने । महाधिवेशनमा विभिन्न आयोगमा थप दुई जना नेताहरू विजयी हुँदा, एक जना केन्द्रीय सदस्य उम्मेदवार पराजित बने ।

एमाले चितवनमा मात्रै एक दर्जनभन्दा बढी सिनियर नेताको पंक्ति छ । तर, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार हुन भने यी केन्द्रीय नेता अनिच्छुक देखिएका छन् ।

एमालेले बुझाएको समानुपातिकको बन्द सूचीमा उपाध्यक्ष रामबहादुर थापा बादल, यमबहादुर परियार र प्रभा बराललाई राखिएको छ । यी बाहेकका अन्य नेता प्रत्यक्ष चुनाव लड्न पाउँछन् । तर उनीहरु चुनाव लड्न अनिच्छुक देखिएका छन् । एमालेका एक जिल्ला पदाधिकारीले आगामी चुनाव लड्न केन्द्रीय सदस्यहरुले इच्छा नगरेको बताए ।

चितवन क्षेत्र नम्बर ३ बाट आगामी निर्वाचनका लागि एमाले भरतपुर महानगर कमिटीका अध्यक्ष शंकर थपलियालाई सर्वसम्मत उम्मेदवार चयन गरेर सिफारिस गरिएको छ ।

यो क्षेत्रबाट एमाले केन्द्रीय सदस्यहरु पार्वती रावल, बालिका गिरी र युवा नेता निशा अधिकारी केन्द्रीय सदस्य छन् । रावलले आफू यसअघि ३ पटकसम्म संसदीय निर्वाचन लडेको, राष्ट्रिय सभा सदस्य बनेको र स्वास्थ्यको समेत समस्या भएको भन्दै नयाँ साथीहरूलाई मौका दिन प्रस्ताव गरेकी थिइन् ।

यस्तै अर्की केन्द्रीय सदस्य निशा अधिकारी र बालिका गिरीले चुनाव लड्न इच्छा नै राखेनन् । यो क्षेत्रबाट केन्द्रीय सदस्य बनेका यमबहादुर परियार समानुपातिक सूचीमा छन् ।

केन्द्रीय सदस्य उठेर पराजित बनेका रामप्रसाद न्यौपानेले उम्मेदवार हुने इच्छा जाहेर गरेनन् । उनी २०८० वैशाखमा भएको उपनिर्वाचनमा चितवन क्षेत्र नं. २ बाट चुनाव लडेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पराजित बनेका थिए ।

नेकपा एमाले चितवन क्षेत्रीय समवन्यका कमिटीका अध्यक्ष सुदिप रेग्मीले पुराना र पटक–पटक उठिसकेका नेतालाई भन्दा पनि नयाँ नेतालाई मौका दिन खोजिएको दावी गरे ।

यस्तै चितवन क्षेत्र नं. २ बाट तीनपटक निर्वाचन लडेर २ पटक जित र एकपटक हार ब्यहोरेका एमाले केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले यसपटक निर्वाचन नलड्ने बताए । ‘३ पटकसम्म चुनाव लडेँ, अब कति लड्ने, जनताले नयाँ मान्छे खोजेका छन्, नयाँ साथीलाई पठाऔँ, सधैं कति उसैलाई मात्रै भोट दिने भनेर जनताले भनेको सुनियो,’ बैठकमा पोखरेलले राखेको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले अनलाइनखबरसँग भने, ‘उहाँको चुनाव लड्ने मनासय देखिएन ।’

एमाले चितवनका जिल्ला इन्चार्जसमेत रहेका देवी ज्ञवालीले पनि पटक–पटक आफूले निर्वाचन लडेको र पारिवारिक कारणले यसपटक उम्मेदवार नबन्ने बताए ।

२०५४ सालमा तत्कालीन भरतपुर नगरपालिकाका नगर उपप्रमुख भएका ज्ञवाली २०६४ मा चितवन–२ बाट उम्मेदवार बनेर तत्कालीन माओवादी केन्द्रका नेता नारायण दाहालसँग पराजित बनेका थिए ।

२०७४ को स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर उठेका ज्ञवाली रेनु दाहालसँग पराजित बनेका थिए ।

२०७९ मा चितवन निर्वाचन क्षेत्र नं. २ को प्रदेश क्षेत्र ‘ख’ बाट उम्मेदवार बनेका उनी कांग्रेस–माओवादीसहितको ५ दलीय गठवन्धनका उम्मेदवार उत्तम जोशीसँग निकै कम मतले पराजित बनेका थिए ।

चितवन–२ बाट उम्मेदवार हुन सक्ने सम्भावना भएका अर्का नेता विजय सुवेदीले पनि यसपटकको निर्वाचन उठ्ने इच्छा नराखेको एमालेका नेताहरू बताउँछन् ।

चितवन–२ बाट पोल्ट्री विज्ञसमेत रहेका डा.तिलचन्द्र भट्टराईलाई उठाउने तयारी एमालेको छ । उनी एमालेको सल्लाहाकार परिषद्को पूर्व सदस्य पनि हुन् ।

यस्तै चितवन क्षेत्र नं. १ बाट क्षेत्रीय कमिटीले ६ जना उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गरेको थियो । क्षेत्रीय कमिटीले सिफारिस गर्दा एमाले निवर्तमान उपाध्यक्ष एवम् महाधिवेशनमा महासचिव पदमा पराजित बनेका सुरेन्द्र पाण्डेको नाम छुटाइएको थियो ।-अनलाइन खबरबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖