• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

सामाजिक अभियन्ता आशिका तामाङले गरिन् काठमाडौबाट स्वतन्त्र उम्मेदवारी घोषणा


  • धनकुटा खबर
  • .

सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं. २ वा ९ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनले कुनै पनि राजनीतिक दलमा आवद्ध नहुने निर्णयसहित स्वतन्त्र धारमा अघि बढ्ने स्पष्ट पारेकी हुन्।

शुक्रबार फेसबुकमार्फत सार्वजनिक गरिएको स्टाटसमा तामाङले विगत केही हप्तादेखि राजनीतिमा सक्रिय रूपमा प्रवेश गर्ने वा नगर्ने विषयमा गम्भीर आत्ममन्थन गरेको उल्लेख गरेकी छन्। यस क्रममा उनले सरोकारवालासँग प्रत्यक्ष संवाद, सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण तथा विशेषगरी जेनजी पुस्तासँग खुला छलफल गरेको बताएकी छन्।

उनका अनुसार ती छलफलबाट सकारात्मक सुझावसँगै आलोचनात्मक र नकारात्मक दृष्टिकोण पनि आएका थिए। ‘म ती सबै सुझाव, व्यवहार र विचारलाई समान रूपमा सम्मान गर्दछु,’ उनले लेखेकी छन्। जनभावना र अनुभवलाई मनन गर्दै दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र रूपमा अघि बढ्नु नै जिम्मेवार निर्णय भएको उनको भनाइ छ।

तामाङले जेनजीले उठाइरहेका आवाज, मुद्दा र परिवर्तनको चाहना संसदभित्र मात्र होइन, सडकदेखि सदनसम्म सशक्त रूपमा प्रतिनिधित्व हुनुपर्ने धारणा व्यक्त गरेकी छन्। उनले यो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाभन्दा पनि नयाँ पुस्ताको आवाज, जवाफदेही राजनीति, पारदर्शिता र व्यावहारिक समाधानप्रतिको प्रतिबद्धताबाट प्रेरित रहेको बताएकी छन् ।

‘युवाहरूको सपना, उनीहरूको भविष्य र देशको समग्र हितका लागि दृढ, स्वतन्त्र र निर्भीक रूपमा अघि बढ्नेछु,’ उनले उल्लेख गरेकी छन्। साथै, स्वच्छ र सचेत राजनीतितर्फको यात्रामा सबैको सुझाव, समर्थन र आलोचनाको अपेक्षा पनि गरेकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖