• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेसका दुई समूहले शुक्रबार दिउँसो एकै समयमा छुट्टाछुट्टै कार्यक्रम राख्दै शक्ति प्रदर्शन गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाली कांग्रेसका दुई समूहले शुक्रबार दिउँसो एकै समयमा छुट्टाछुट्टै कार्यक्रम राख्दै शक्ति प्रदर्शन गर्ने भएका छन्। १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गर्दैछ।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोजना गर्ने पत्रकार सम्मेलनमा उपस्थित हुन सञ्चारकर्मीहरूलाई आग्रह गरेका छन्। संस्थापन पक्षले विशेष महाधिवेशन मान्य नभएको र केन्द्रीय कार्यसमितिको निर्णयबिना त्यस्तो महाधिवेशन हुन नसक्ने अडान लिँदै आएको छ।

उता, पुस २७ देखि ३० गतेसम्म विशेष महाधिवेशन आयोजना गरी १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित गगन थापालाई सर्वसम्मत सभापति चयन गरेको समूह भने आफूहरूलाई आधिकारिक मान्यता दिन माग गर्दै कागजातसहित निर्वाचन आयोग जाने तयारीमा छ। विशेष महाधिवेशनको जनपरिचालन समितिका सदस्य–सचिव सुसन वैद्यले विज्ञप्ति जारी गर्दै दिउँसो २ बजे नवनिर्वाचित सभापति गगन थापासहित सम्पूर्ण केन्द्रीय सदस्यहरूलाई चुनाव चिन्हलगायत विषयमा छलफलका लागि कान्तिपथस्थित निर्वाचन आयोगमा बोलाइएको जानकारी दिएका छन्।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा सम्पन्न विशेष महाधिवेशनलाई संस्थापन पक्षले औपचारिक मान्यता दिएको छैन। संस्थापनको तर्क अनुसार केन्द्रीय कार्यसमितिको निर्णयबिना विशेष महाधिवेशन वैधानिक हुँदैन। तर, गगन थापा पक्षले भने पार्टी विधानअनुसार आवश्यक प्रतिशत महाधिवेशन प्रतिनिधिको समर्थनमा विशेष महाधिवेशन गरिएको दाबी गर्दै आफूहरूले नै आधिकारिकता पाउनुपर्ने अडान लिँदै आएको छ।

एकै समयमा दुई फरक कार्यक्रम र दुई फरक दाबी सार्वजनिक हुन लागेपछि नेपाली कांग्रेसभित्रको आधिकारिकता विवाद झन् उत्कर्षमा पुगेको देखिन्छ। अब पार्टीको वैधानिक नेतृत्व कुन पक्षलाई मान्यता दिने भन्ने विषय निर्वाचन आयोगको निर्णयमा निर्भर रहनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖