• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

माधव नेपालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दर्ता


  • धनकुटा खबर
  • .

रौतहट । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै रौतहट क्षेत्र नं. १ मा उजुरी दर्ता भएको छ। सोही निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राम नरेश यादवले निर्वाचन अधिकृतको कार्यालय गौरमा नेपालविरुद्ध उजुरी दिएका हुन्।

उम्मेदवार यादवले दर्ता गराएको उजुरीमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेको दाबी गरिएको छ। पतञ्जलि योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा नेपालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा चलिरहेको र उनी निलम्बित अवस्थामा रहेको जिकिर उजुरीमा गरिएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ बमोजिम भ्रष्टाचार मुद्दा दायर भई निलम्बनमा रहेका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य हुने कानुनी प्रावधान रहेको उम्मेदवार यादवको भनाइ छ।

‘कानुनी रूपमा अयोग्य व्यक्तिले निर्वाचन लड्न नमिल्ने भएकाले ऐनको व्यवस्था अनुसार नेपालको उम्मेदवारी खारेज हुनुपर्छ।’ यादवले बताए।
निर्वाचन अधिकृतको कार्यालयले उजुरी दर्ता भएको पुष्टि गर्दै यसबारे आवश्यक कानुनी प्रक्रिया र छानबिन सुरु गरिएको जनाएको छ।

निर्वाचन तालिका अनुसार दाबी विरोधमाथि जाँचबुझ गरी निर्वाचन अधिकृतको कार्यालयले केही दिनभित्रै निर्णय सुनाउनेछ। यस विषयमा नेपालको पक्षबाट हालसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖