• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

देशभर १५७ जेनजी उम्मेदवार, कांग्रेसबाट शून्य, अरू कुन दलबाट कति ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि १५७ जेनजीले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगको विवरण अनुसार मंगलबार उम्मेदवारी दिएका ३ हजार ४९० जनामध्ये १२ देखि २८ वर्ष उमेर समूहका सो बराबरको व्यक्तिले उम्मेदवारी दिएका हुन् ।

कुल उम्मेदवारमध्ये ७० जना दलबाट र बाँकी ८७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यसरी उम्मेदवारी दिएकामा अघिल्लो प्रतिनिधिसभामा रहेका प्रमुख पार्टीबाट निकै कम उम्मेदवार मात्रै परेका छन् । अघिल्लो प्रतिनिधिसभामा कायम रहेका दलहरूमध्ये पहिलो दल नेपाली काँग्रेसबाट कुनै पनि जेनजी उम्मेदवार परेका छैनन् ।

दोस्रो ठुलो दल नेकपा एमालेबाट एकजना जेनजी उम्मेदवार छन् । एमालेले सर्लाही ४ बाट अमनिश कुमार यादवलाई टिकट दिएको हो । उनी २७ वर्षका छन् ।

तेस्रो ठुलो दल रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट पनि एक जना जेनजी उम्मेदवार समावेश छन् । बारा–४ मा उम्मेदवार बनेका अजय कुशवाहा उक्त पार्टीको एकमात्र जेनजी उम्मेदवार हुन् । उनी २७ वर्षको रहेको निर्वाचन आयोगले जनाएको छ ।

अघिल्लो प्रतिनिधिसभामा चौथो ठुलो दल रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै ८ जना जेनजी उम्मेदवारलाई प्रत्यक्ष रूपमा चुनावी मैदानमा उतारेको छ । तेह्रथुम–१ बाट सुरेन्द्र कार्की (२८), सिराहा–१ बाट बब्लु गुप्ता (२८), मकवानपुर–२ बाट प्रशान्त उप्रेती (२८), नवलपरासी–२ बाट मनिष खनाल (२६), रुपन्देही–२ बाट सुलभ खरेल (२८), मुगु–१ बाट भुवन टमटा (२५), अछाम–१ बाट ओमप्रकाश रावल (२७) र कैलाली–२ बाट केपी खनाल (२७) रहेका छन् ।

त्यस्तै, पाँचौं शक्तिको रूपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले २ जनालाई स्थान दिएको छ । उक्त पार्टीले मोरङ–६ बाट सबिन निरौला (२७) र सुर्खेत–१ रवि हमाल ठकुरी (२८) लाई टिकट दिएको छ ।

जनता समाजवादी पार्टीले कुनै पनि जेनजी उम्मेदवार उठाएको छैन । जनमत पार्टीले रौतहट–२ मा वीरेन्द्र महतो (२७) रौतहट–२ मा सोनु कुशवाहा (२८) र रौतहट–४ मा राम कल्याण राउत (२८) लाई गरी ३ जना उम्मेदवार उठाउँदा नागरिक उन्मुक्ति पार्टीले यो समूहको कुनै पनि व्यक्तिलाई स्थान दिएको छैन ।

अघिल्लो संसदमा नभएका दलमध्ये उज्यालो नेपाल पार्टीले ७ जना र श्रम संस्कृति पार्टीले सबैभन्दा धेरै ४ जना जेनजी उम्मेदवार उठाएका छन् । यी दुवै दल आगामी निर्वाचनमा राष्ट्रिय दल बन्ने सम्भावना भएका दलहरू हुन् ।

नेपाल मजदूर किसान पार्टीले ६, आम जनता पार्टीले ३, जनता समाजवादी पार्टीले एकल चुनाव चिन्हबाट १ जनालाई उम्मेदवार बनाएको छ । यी दलले राष्ट्रिय मान्यता नपाए पनि यसअघि संसदमा प्रतिनिधित्व भएका दल हुन् ।

यसबाहेक जनअधिकार पार्टीले १, जनता लोकतान्त्रिक पार्टी, नेपालले १, जनादेश पार्टी नेपालले २, जय मातृभूमि पार्टीले १, नेपाल जनता पार्टीले १, नेपाल जनसेवा पार्टीले २, नेपालका लागि नेपाली पार्टी २, प्रगतिशील लोकतान्त्रिक पार्टीले ४, मंगोल नेशनल अर्गनाइजेसनले ५, मितरी पार्टी नेपालले ४, राष्ट्र निर्माण दल नेपालले ३, राष्ट्रिय जनमुक्ति पार्टी १, राष्ट्रिय परिवर्तन पार्टीले ४, राष्ट्रिय मुक्ति पार्टी नेपालले १, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १, संयुक्त नागरिक पार्टीले १ तथा समावेशी समाजवादी पार्टीले १ उम्मेदवार उठाएका छन् ।

नेपालको संविधान २०७२ अनुसार प्रतिनिधिसभामा उम्मेदवारी दिन कम्तीमा २५ वर्ष उमेर हुनुपर्छ । त्यसैले चार वर्षको उमेर समूहका जेनजी मात्रै यसमा उम्मेदवार बन्न पाउँछन् । १९९६ देखि २०१२ सम्म जन्मिएको उमेर समूह जेनजी भए पनि २००० वा सोभन्दा अघि जन्मेका मात्रै यसका लागि योग्य हुन्छन् ।

गत प्रतिनिधिसभाको राष्ट्रिय दलहरु

नेपाली काँग्रेस – ०
एमाले – १
नेपाली कम्युनिष्ट पार्टी – १
राष्ट्रिय स्वतन्त्र पार्टी – ८
राष्ट्रिय प्रजातन्त्र पार्टी – २
जनता समाजवादी पार्टी नेपाल – ०
जनमत पार्टी – २
नागरिक उन्मुक्ति पार्टी – ०
अन्य दलहरु

नेपाल मजदूर किसान पार्टी – ६
श्रम संस्कृति – ४
उज्यालो नेपाल पार्टी -७
आम जनता पार्टी – ३
जनता समाजवादी पार्टी (एकल चुनाव चिन्ह) – १
जनअधिकार पार्टी – १
जनता लोकतान्त्रिक पार्टी, नेपाल – १
जनदेश पार्टी नेपाल – २
जय मातृभूमि पार्टी – १
नेपाल जनता पार्टी – १
नेपाल जनसेवा पार्टी – २
नेपालका लागि नेपाली पार्टी- २
प्रगतिशील लोकतान्त्रिक पार्टी – ४
मंगोल नेशनल अर्गनाइजेसन – ५
मितरी पार्टी नेपाल – ४
राष्ट्र निर्माण दल नेपाल – ३
राष्ट्रिय जनमुक्ति पार्टी – १
राष्ट्रिय परिवर्तन पार्टी – ४
राष्ट्रिय मुक्ति पार्टी नेपाल – १
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च – १
संयुक्त नागरिक पार्टी – १
समावेशी समाजवादी पार्टी -१

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖