• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

निकोलसको चुनावी घोषणा: ५ वर्षमा सबै नेपाली करोडपति, २०९० सम्म नेपाल ‘स्वर्ग’ बनाउने योजना


  • धनकुटा खबर
  • .

काठमाडौं । आगामी निर्वाचनमा ‘जेन-जीको जुत्ता’ चुनाव चिह्नमा मैदानमा उत्रिएका डा. कमल (निकोलस) भुसालले अचम्मका चुनावी लक्ष्‍य र योजनाहरू सार्वजनिक गरेका छन्। उनले वि.सं. २०९० सम्म नेपाललाई ‘हरित स्वर्ग’ र सन् २१०० सम्म पृथ्वीलाई विश्व शान्ति संगठनमार्फत स्वर्गको रूपमा चिनाउने दाबी गरेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो घोषणापत्रको मस्यौदा सार्वजनिक गर्दै डा. भुसालले आम जनताबाट सुझावको अपेक्षा राखेका छन्। उनले प्रतिज्ञा गरेका योजना अनुसार, पदभार ग्रहण गरेको एक महिनाभित्र ‘जेन-जी’ पुस्ताका माग पूरा गर्ने र तीन महिनाभित्र सहकारी, लघुवित्त तथा मिटरब्याज पीडितहरूको डुबेको रकम फिर्ता गराउने छन्।

उनको घोषणापत्रमा शिक्षा, स्वास्थ्य, न्याय, सुरक्षा, खानेपानी र बिजुली पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने, तीन वर्षभित्र स्वदेशमै रोजगारी सिर्जना गरी देशको सम्पूर्ण ऋण तिर्ने र पाँच वर्षभित्र ३ हजार खर्बको अर्थतन्त्र निर्माण गरी सबै नेपालीलाई करोडपति बनाउने योजना उल्लेख छ। आठ वर्षभित्र नेपाललाई स्वर्गको नमुना बनाउने उनको महत्वाकांक्षा छ।

राज्य संरचना र नीतिगत व्यवस्थामा आमूल परिवर्तन गर्दै डा. भुसालले नेपाललाई वैदिक सनातन हिन्दू, बुद्ध र किरात राष्ट्र घोषणा गर्ने, प्रदेश सभा र मन्त्रीहरू खारेज गर्ने तथा शिक्षा र स्वास्थ्यको पूर्ण जिम्मेवारी राज्यले लिने नीति अघि सारेका छन्। साथै खानी, पानी, जल, जंगल र जडीबुटीको वैधानिक प्रयोगमार्फत आर्थिक क्रान्ति गर्ने र सुशासनयुक्त नेपाल निर्माण गर्ने योजना राखेका छन्।

रूपन्देही जिल्लालाई केन्द्रमा राखेर स्थानीय विकासका योजना पनि उनले प्रस्तुत गरेका छन्। बुटवललाई शिक्षा, तिलोत्तमालाई औद्योगिक र सैनामैनालाई सूचना प्रविधिको केन्द्र बनाउने, लुम्बिनी प्रादेशिक अस्पताललाई मेडिकल कलेज बनाउने, तिनाउ खोलाको तटबन्ध र सुकुम्बासी समस्याको दीर्घकालीन समाधान गर्ने, ज्योतिनगरको पहिरो नियन्त्रण गर्ने, तथा पर्यटन प्रवर्द्धनका लागि एक वर्षमा एक करोड पर्यटक भित्र्याउने लक्ष्य राखेका छन्।

डा. भुसालले राष्ट्रियता, एकता, मानवता र आत्मनिर्भरतालाई मूल सिद्धान्त मान्दै, ‘देशको खाऊँ, देशको लगाऊँ र देशमै रमाऊँ’ भन्ने नारासहित आत्मनिर्भर नेपाल महाअभियान चलाउने र रेमिट्यान्समा आधारित अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने आफ्नो मुख्य एजेन्डा प्रस्तुत गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖