लुम्बिनी प्रदेश सभाकी सदस्य अम्बिका काफ्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनारलाई कानुनअनुसार तीन वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरेकी छन्।
बुधबार सम्पन्न लुम्बिनी प्रदेश सभाको बैठकमा बोल्दै सांसद काफ्लेले सुनारले दिएको ‘गाईको मासु खान पाउनुपर्ने’ भन्ने अभिव्यक्तिले सामाजिक र धार्मिक सद्भावमा गम्भीर असर पार्ने बताइन्। संविधानको धारा ४ मा धर्मनिरपेक्षता स्पष्ट रूपमा उल्लेख भए पनि गाईगोरुको मासु खान पाउने विषय उठाइनु आपत्तिजनक भएको उनको भनाइ थियो।
सांसद काफ्लेले सामाजिक तथा धार्मिक सद्भाव खलबलिने किसिमका अभिव्यक्ति कसैले पनि दिन नपाउने उल्लेख गर्दै दल वा व्यक्तिको पहिचानभन्दा माथि कानुन समान रूपमा लागू हुने बताइन्।
उनले मुलुकी अपराध संहिताअनुसार गाईगोरु मार्न तथा त्यसको मासु खान प्रतिबन्ध रहेको स्मरण गराउँदै उक्त कार्यमा संलग्न भए तीन वर्षसम्म कैद सजायको व्यवस्था रहेको स्पष्ट पारिन्।
‘सनातन धर्मावलम्बीहरूले पूज्ने गाईगोरुसम्बन्धी यस्ता धारणा सार्वजनिक हुनु दुर्भाग्यपूर्ण हो,’ भन्दै उनले यस्तो अभिव्यक्तिप्रति कडा आपत्ति जनाइन्।
