• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

राजसंस्था स्थापना नभएसम्म निर्वाचन हुन दिँदैनौं: दुर्गा प्रसाईं


  • धनकुटा खबर
  • .

काठमाडौ । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले मुलुकमा राजसंस्था स्थापना नभएसम्म निर्वाचन हुन नदिने चेतावनी दिएका छन्।

चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रसाईंले यस्तो बताएका हुन्। तोकिएको स्थानभन्दा फरक ठाउँमा कार्यक्रम गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दा स्थिति केहीबेर तनावपूर्ण बनेको थियो।

जिल्ला प्रशासन कार्यालयले प्रसाईं पक्षलाई केन्द्रीय बस टर्मिनल (बसपार्क) चोकको एक कुनामा कार्यक्रम गर्न अनुमति दिएको थियो। आयोजकले चौबिसकोठी चोक परिक्रमा गरेर पुनः बसपार्क नै फर्कने अनुमति मागेका थिए।

तर, र्‍यालीसहित चौबिसकोठी पुगेको समूहले चोक परिक्रमा नगरी सोही स्थानमै कार्यक्रम गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो। प्रहरीले हटाउन खोज्दा प्रसाईं पक्ष र सुरक्षाकर्मीबीच केहीबेर धकेलाधकेल भएको थियो।

सो क्रममा प्रहरीले प्रसाईंका ३ जना कार्यकर्तालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रवीन्द्र खनालले निषेधित स्थानमा कार्यक्रम गर्न खोज्ने ३ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए।

हस्तक्षेप हुनुअघि बोल्दै प्रसाईंले वर्तमान व्यवस्थाप्रति आक्रोश पोखेका थिए। उनले भने, ‘जबसम्म यो देशमा राजसंस्था स्थापना हुँदैन, तबसम्म हामी निर्वाचन हुन्न, हुन दिँदैनौँ।’

कार्यक्रमअघि प्रसाईं नेतृत्वको समूहले बसपार्कदेखि चौबिसकोठी चोकसम्म र्‍याली निकालेको थियो। र्‍यालीमा सहभागीहरूले हिन्दू राष्ट्र र राजसंस्था पुनर्वहालीको माग गर्दै नाराबाजी गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖