• Wednesday 7th of October 2026

सामूहिक हत्याका आरोपीको बयान- बहिराप्रति विभेद गर्दा थप ९ ठाउँ मान्छे मारेको छु


  • धनकुटा खबर
  • .

२६ असोज, काठमाडौं । तीनकुनेमा एक महिनाअघि भएको चार जनाको सामूहिक हत्यामा संलग्न सञ्जय भण्डारीले विशाल राईले चढाएको मोटरसाइकलले ठक्कर दिएको झोँकमा एक जनाको हत्या गर्न जाँदा अरु पनि परेको बयान दिएका छन् ।

सरकारी वकिलको रोहबरमा प्रहरीसँग दिएको बयानमा उनले भनेका छन्, ‘म तीक्ष्ण क्षमता भएको व्यक्ति हुँ, एकपटक देखेको व्यक्तिलाई सधैं चिन्न सक्छु र हरेक कुरा लामो समयसम्म दिमागमा राख्न सक्छु ।’
मोटरसाइकलले ठक्कर दिँदा चालकको अनुहार, आँखा, शरीरको जिउडाल लगायतका हुलिया राम्रोसँग नियालेका कारण स्मरण भइहेको उनले बताएका छन् ।

‘दुर्घटनापछि मोटरसाइकल कोटेश्वरतर्फ गएको थियो, त्यही अनुसार ठक्कर दिएर उपचार खर्च नदिइ निरन्तर हातपात गर्ने मोटरसाइकल चालकको म निरन्तर खोजीमा थिएँ’, उनले भनेका छन्, ‘काँडाघारी बस्ने हुँदा कोटेश्वरको बाटो हुँदै हिँड्ने क्रममा मलाई ठक्कर दिने मोटरसाइकल चालकलाई चिनेँ ।’ त्यसपछि पिछा गर्नै जाँदा तीनकुनेस्थित दिव्य सः मिलमा छिरेको उनले बताए ।

‘पछि पटकपटक उद्योगमा जाँदा त्यहीँको अस्थायी टहरामा उनी बस्ने गरेको यकिन भयो’, उनी भन्छन्, ‘उनको नाम नविन राई हो भन्ने पनि पक्राउ परेपछि मात्र थाहा पाएको हुँ ।’ उनी बस्ने स्थान पत्ता लगोपछि एक÷दुई महिना घरमा गएर बसेको उनले भनेका छन् ।

‘घटनाको अघिल्लो दिन बेलुका काठमाडौंमा गएर ठक्कर दिने चालकलाई मार्नुपर्छ भन्ने लाग्यो, त्यसपछि काठमाडौंमा गएर योजना बनाएँ’, उनले भनेका छन्, ‘घटनास्थल जाने क्रममा गौशालाबाट मोबाइल अफ गरेँ, खुकुरी राखेको झोला बोकेर हिँडेको थिएँ ।’

घटनास्थल पुग्दा ७ बजिसकेको भन्दै उनले पछाडिपट्टीको फलामको गेट नाघेर टहरामा प्रवेश गरेको बताएका छन् । तत्काल नविन राई त्यहाँ नभएको तर, आउने वित्तिकै खुकुरी प्रहार गरेको उनले बताएका छन् ।

त्यसपछि क्रमशः अरुको पनि हत्या गरेको उनले भनेका छन् । ‘घटनास्थलमा पूर्णबहादुर भुजेल, अम्बिका भुजेल र सुभद्रा भुजेल आएपछि चिन्छन् भन्ने भएको हुँदा अरुको पनि हत्या गरेको थिएँ’, उनले भनेका छन् ।

भण्डारीले बहिराप्रति गरिने सामाजिक विभेदका कारण रातोपुल, धुम्बराही, भत्केको पुल, भाटभटेनी, बौद्ध, भक्तपुरको बोडे, सिन्धुपाल्चोकको दुवाचौर, पाँचपोखरी र नाम्चेमा विभिन्न मितिमा मान्छे मारेको भनेका छन् ।

उनले यो बयान सांकेतिक भाषाका दोभाषे राष्ट्रिय बहिर संघ नेपालका अध्यक्ष केपी अधिकारी र जनक पौडल समेतको रोहबरमा दिएका हुन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले यो प्रकरणको अनुसन्धान सकेर बुझाएको रायसहितको प्रतिवेदनका आधारमा शुक्रबार अदालतमा मुद्दा दर्ता भएको छ । प्रहरीले भने उनले संलग्न रहेको भनेका अरु घटनाको प्रमाणीकरण गर्न समय पर्याप्त नभएको भन्दै थप अनुसन्धान गर्ने बाटो खुलै राखेर प्रतिवेदन बुझाइएको बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖