• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

रबी आज चितवन जांदै


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज आफ्नो निर्वाचन क्षेत्र चितवन जाने भएका छन्। खुट्टामा लागेको चोट पूर्ण रूपमा निको नभए पनि उनले चितवन प्रस्थान गर्ने निर्णय गरेका हुन्। लामिछानेले सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै आज बिहान चितवनतर्फ लाग्ने जानकारी दिएका छन्। उनी चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा उम्मेदवार हुन्। यसअघि सोमबार नै चितवन जान चाहेका भए पनि चिकित्सकको सुझावअनुसार यात्रा स्थगित गरेका थिए।

हाल पनि लामिछानेलाई खुट्टाको घाउले दुःख दिइरहेको छ र उनी सहज रूपमा हिँडडुल गर्न सक्ने अवस्थामा छैनन्। पार्टी स्रोतका अनुसार चितवन पुगेपछि पनि उनी तत्काल घरदैलो कार्यक्रम गर्न सक्ने अवस्थामा छैनन्। त्यसैले अहिले उनी बसेकै स्थानमा राजनीतिक भेटघाट, छलफल र सीमित कार्यक्रमहरू गर्ने योजना रहेको छ।

यसैबीच, फागुन महिनादेखि भने सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह संयुक्त रूपमा देश दौडाहामा निस्कने तयारी भइसकेको छ। रास्वपाकी नेतृ प्रतिभा रावलका अनुसार फागुनको पहिलो सातादेखि दुवै नेताको संयुक्त चुनावी अभियान सुरु हुनेछ। सातै प्रदेश समेट्ने गरी विस्तृत कार्यतालिका बनाइँदै रहेको र समयले भ्याएसम्म बढीभन्दा बढी मतदातासँग प्रत्यक्ष संवाद गर्ने लक्ष्य रहेको उनले बताइन्।

हाल वरिष्ठ नेता बालेन्द्र साह पूर्वी नेपालमा छन्। उनी आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा चुनावी प्रचारमा सक्रिय छन् भने आसपासका जिल्लामा रहेका रास्वपाका उम्मेदवारहरूको समर्थनमा पनि पुगिरहेका छन्। यसअघि माघ ४ गते रवि लामिछाने र बालेन्द्र साह एकसाथ जनकपुर पुगेर रास्वपाको पहिलो चुनावी सभामा सहभागी भएका थिए। सोही सभामा जाने क्रममा लामिछानेको खुट्टा पर्खालमा ठोक्किएर चोट लागेको थियो। त्यसयता उनी सार्वजनिक कार्यक्रममा खासै देखिएका थिएनन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖