• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

रास्वपाको सम्पर्क कार्यालयमा तोडफोड गरिएको होइन :प्रहरी


  • धनकुटा खबर
  • .

काठमाडौं । झापाको कमल गाउँपालिका–२ स्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पर्क कार्यालय रहेको घरमा तोडफोड गरिएको छ । घरधनी जयराम अधिकारी सुत्ने कोठामा ढुंगा प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बुधबार (माघ २१) राति अधिकारी सुत्ने कोठाको झ्यालमा ढुंगा प्रहार गरिँदा सामान्य भौतिक क्षति भएको झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । “रातिको समयमा घरधनी जयराम अधिकारी सुत्ने कोठाको झ्यालमा ढुंगा प्रहार गरेर तोडफोड भएको हो, रास्वपाको सम्पर्क कार्यालय होइन । अन्य क्षति भएको छैन,” उनले भने ।

प्रहरीका अनुसार, उक्त घरको एउटा कोठा भाडामा लिएर रास्वपाले सम्पर्क कार्यालय सञ्चालन गर्दै आएको छ । अरू कोठामा घरधनी अधिकारीको परिवार बस्दै आएको र तोडफोडका बेला पनि उनीहरू घरमै थिए ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर–५ मा रास्वपाबाट पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उमेदवार छन् । बालेनको प्रचारप्रसार र भेटघाटका निम्ति केही समयअघि सम्पर्क कार्यालय खोलिएको थियो ।

उक्त घरमा तोडफोड गरिनुको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । तोडफोडको खबर प्रहरीसम्म पुगेपछि डीएसपीको टोली घटनास्थलमा पुगेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖