• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

‘नगरेको सजाय भोगेँ, अब समाधान दिन्छु’ — रवि लामिछाने


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी पीडितलाई केवल जवाफ मात्र नभई समस्याको ठोस समाधान दिने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहीबार चितवन पुगेका लामिछानेले चुनावी प्रचारका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै सहकारी पीडितको मुद्दामा आफू निरन्तर बोल्दै आएको र अब परिणाम देखाउने समय आएको बताए।

सञ्चारकर्मीले “सहकारी पीडितले तपाईंलाई किन भोट दिने?” भन्ने प्रश्न गरेपछि लामिछानेले यस विषयमा आफूले बारम्बार जवाफ दिँदै आएको उल्लेख गरे। उनले भने, सहकारी प्रकरणमा निरन्तर बोल्ने र जवाफ दिने व्यक्ति आफू मात्र भएको दाबी गर्दै पीडितहरूले अब भाषण होइन, वास्तविक समाधान पाउने विश्वास दिलाए। “जवाफ धेरै दिइयो, नगरेको गल्तीको सजाय पनि भोगियो, अब समाधान दिन्छु,” उनले स्पष्ट पारे।

लामिछानेले सहकारी पीडितको पीडा आफूले नजिकबाट बुझेको भन्दै उनीहरूको न्यायका लागि दृढतापूर्वक लाग्ने बताए। उनले अब सहकारी पीडितका समस्या राजनीतिक हतियार बनाउने नभई कानुनी, संरचनागत र व्यवहारिक रूपमा समाधान गर्नुपर्नेमा जोड दिए।

खुट्टामा लागेको चोटको उपचारपछि लामिछाने पहिलो पटक जिल्ला पुगेका हुन्। बिहीबार दिउँसो बुद्ध एयरको विमानमार्फत भरतपुर पुगेका उनले त्यहाँस्थित लंकुमा रहेको लक्ष्मीनारायण मन्दिरमा पुगेर स्वस्तिशान्ति पूजा समेत गरेका थिए। जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा खुट्टामा चोट लागेपछि संक्रमण देखिएको थियो, जसका कारण उनी केही समय काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए।

स्वास्थ्यमा क्रमशः सुधार आएपछि लामिछाने फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीमा सक्रिय रूपमा मैदानमा फर्किएका छन्। यसपटक पनि उनी चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवार रहेका छन्। सहकारी पीडितको मुद्दालाई प्राथमिकतामा राख्दै उनले चुनावी अभियानलाई तीव्र बनाउने संकेत दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖