• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

३० जनाले त्यागे एमाले, कांग्रेस उम्मेदवारलाई समर्थन


  • धनकुटा खबर
  • .

डडेलधुरा । नेकपा एमाले डडेलधुरा जिल्ला कमिटी सदस्य बिक्रम ऐरसहित ३० जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्।

अजयमेरु गाउँपालिकास्थित चमडा पार्टी कार्यालयमा आयोजित एक विशेष कार्यक्रमबीच एमाले डडेलधुरा जिल्ला कमिटी सदस्य ऐर नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी ३० जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन्।

उनीहरूले पार्टी परित्याग गर्दै आफूहरूले कांग्रेस उम्मेदवार नैनसिंह महरलाई सघाउने प्रतिवद्धता जनाएका छन्। पार्टी प्रवेश गर्दै ऐरले मुलुकको निकास र जनताको विकासका लागि कांग्रेसको विकल्प नरहेको बताएका छन्।

‘राजनीतिक दल नारामा मात्र सीमित हुने होइन भन्ने मेरो लामो राजनीतिक अनुभवले सिकाएको छ। व्यवहारमा जनताको काम गर्ने पार्टी रोज्नुपर्छ। आजको दिनमा कांग्रेस नै त्यस्तो एकमात्र शक्ति हो, जो भरोसायोग्य छ र सधैं जनतासँग नजिक रहेर उनीहरूका सुख–दुःखमा मलम लगाउँछ।’

उनले एमालेमा राजनीतिक इमान्दारिता हराउँदै गएको र कार्यकर्ताको भविष्य नभएको गुनासो गरे। ‘महर जस्तो योजना भएको र केन्द्रमा समेत प्रभाव राख्न सक्ने नेतृत्वलाई जिताउनु नै डडेलधुराको हितमा हुनेछ। त्यसैले हामी ३० जना साथीहरू बिना सर्त कांग्रेसको लोकतान्त्रिक अभियानमा समाहित भएका हौं,’ उनले भने।

यस्तै कांग्रेस उम्मेदवार महरले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै चमडाबाट सुरु भएको लहरले फागुन २१ को नतिजा कांग्रेसको पक्षमा आउने सुनिश्चित गरेको बताए।

‘विपक्षी दलका जिम्मेवार नेता बिक्रमलगायतले देखाउनुभएको यो विश्वासले मलाई थप ऊर्जा मिलेको छ। अजयमेरुवासीले दिएको यो साथले पुष्टि गर्छ कि अब डडेलधुराले विकास र समृद्धिको एजेण्डा बोकेको कांग्रेसलाई नै रोजिसकेको छ,’ उनले भने।

यस्तै कांग्रेस डडेलधुरा सभापति भीमबहादुर साउद, पूर्वपार्टी सभापति रघुवर भट्ट र सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री गोबिन्द बोहोरालगायत शीर्ष नेताहरूले अबिर र खादा लगाएर नवप्रवेसीहरूलाई स्वागत गरेका थिए।

उनीहरूले पार्टीमा जोडिएका नयाँ नेताहरूको क्षमता, योग्यता र क्रियाशीलताका आधारमा न्यायोचित अवसर तथा जिम्मेवारी सुम्पिने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖