काठमाडौ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाभियानले नेपाल बन्दको चेतावनी दिएको छ । सरकारसँग भएको १२ बुँदे सहमति कार्यान्वयनका निम्ति दबाब दिँदै महाभियानका अध्यक्ष दुर्गा प्रसाईंले यस्तो चेतावनी दिएका हुन् ।
उनले आज विज्ञप्ति जारी गर्दै फागुन ७ गतेसम्म सम्झौता कार्यान्वयन नगरे ८ गते आन्दोलनको कार्यक्रम तय गरी अनिश्चितकालिन नेपाल बन्द र आम हड्ताल गर्ने बताएका छन् ।
‘नेपाल सरकारले हामीसँग गरेको १२ बुँदे सहमति फागुन ७ गतेसम्म हुबहु कार्यान्वयन गर्नुपर्ने नगरे फागुन ८ गते आन्दोलनको मिति तय गरेर अनिश्चितकालिन नेपाल बन्द र आम हड्ताल गरिनेछ,’ प्रसाईंले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
साथै, फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी नहुन राष्ट्रवादी, देशभक्त, सेना, प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी, लब्ध प्रतिष्ठित व्यक्तित्व, मजदुर, किसान, पत्रकार र आम नागरिकलाई अपिल गरेका छन् ।
सो दिन सवारी यातायातका साधन, शैक्षिक संघसंस्था, प्रतिष्ठान, कलकारखाना, उद्योग, बजार व्यवसाय सबै बन्द रहनेसमेत प्रसाईंको भनाइ छ ।

