• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

प्रधानमन्त्रीका आकांक्षीलाई कांग्रेसको चुनौती : दम छ भने गगन थापासँग खुला बहस गर


  • धनकुटा खबर
  • .

जनकपुरधाम । नेपाली कांग्रेसका मधेस प्रदेश सभापति एवं मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रधानमन्त्रीका अन्य आकांक्षीहरूलाई कांग्रेस सभापति तथा प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापासँग खुला संवाद गर्न चुनौती दिएका छन्।

मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले नेपाली कांग्रेस जुनसुकै राजनीतिक चुनौतीको सामना गर्न तयार रहेको भन्दै सबै दलका प्रधानमन्त्रीका उम्मेदवारहरूलाई सार्वजनिक बहसका लागि आह्वान गरेका हुन्।

यादवले प्रधानमन्त्री पदको दाबी गर्ने जोकोहीले पनि गगन थापासँग एउटै मञ्चमा उभिएर भिजनका बारेमा संवाद गर्नुपर्ने बताए। ‘यदि कसैले आफूलाई प्रधानमन्त्रीको योग्य उम्मेदवार ठानेको छ भने कांग्रेसका प्रधानमन्त्री उम्मेदवार गगन थापासँग खुला संवाद गरोस्,’ यादवले भने, ‘हामी सबै दलका उम्मेदवारहरूलाई सार्वजनिक बहसका लागि निम्तो दिन चाहन्छौँ।’ उनले कांग्रेसले अबको नेतृत्वका लागि स्पष्ट भिजन अघि सारेको दाबी समेत गरे।

यसैबीच, नेपाली कांग्रेसले भोलि बुधबार मधेस प्रदेशको धनुषाबाट आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। कांग्रेसले यसपटक घोषणापत्रलाई ‘प्रतिज्ञापत्र’ को नाम दिएको छ, जुन ‘भिजन १०’ को थिममा आधारित रहेको यादवले जानकारी दिए।

उनले धनुषामा हुने विशेष सभामा सहभागी भई शीर्ष नेताहरूको सम्बोधन सुन्न र मुलुक निर्माणको जिम्मेवारी बोध गर्न सबै नागरिकलाई अपिल गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖