विराटनगर । झापा–५ का उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहेका छन्।
अभियानकै क्रममा उनी एक स्थानीयको घरमा पुगेर क्यान्सरबाट पीडित वृद्ध तथा उनका परिवारसँग भेटघाट गरे। कुराकानीका क्रममा उनले क्यान्सर उपचारको खर्च थेग्न खेतबारी नै बेच्नुपर्ने अवस्था आउने उल्लेख गरे। पीडित परिवारले ‘परिवार हो नि’ भन्दै आफ्नो पीडा सुनाएका थिए।
त्यस्तै दमकमा उनले शिवमाया नाम गरेकी एक वृद्धालाई भेटे। ती वृद्धाले विदेशमा आफ्नो छोराको हत्या भएको भन्दै न्यायका लागि रुँदै बालेनसँग गुहार मागिन्। सो क्रममा उनले कुनै स्पष्ट जवाफ दिन सकेनन्।
निर्वाचन क्षेत्रका विभिन्न स्थानमा वृद्धवृद्धा, युवा, असक्त, गरिब र सुकुमबासीसँग भेटघाट गर्दै हिँड्दा उनलाई समर्थकले अँगालो हाल्ने, फोटो खिच्ने र भावुक हुने दृश्यहरू देखिने गरेका छन्। रास्वपाबाट भावी प्रधानमन्त्रीका उम्मेदवारसमेत मानिएका बालेन झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा छन्।
यद्यपि तीव्र प्रतिस्पर्धाबीच उनी चुनावी अभियानमा सहज रूपमा सहभागी हुन नसकेको गुनासो गर्न थालेका छन्। गत माघ ५ गते जनकपुरमा आयोजित उद्घोष सभामा उनले करिब १० मिनेट मात्र सम्बोधन गरेका थिए। त्यसपछि निकटस्थहरूले भाषण छोट्याउन सुझाव दिएको बताएका छन्। एक महिनापछि धनगढीमा भएको सभामा उनले जम्मा तीन मिनेट सम्बोधन गरे। त्यहाँ उनले सुदूरपश्चिमलाई ‘सु–नजिक प्रदेश’ बनाउनुपर्ने उल्लेख गर्दै रास्वपा भोट होइन, काम माग्न आएको बताए।
निकट स्रोतका अनुसार भीडका कारण उनी दिक्क मान्न थालेका छन्। पूर्वनिर्धारित कार्यक्रमहरूमा समर्थकले घेर्ने हुँदा मतदातासँग गहिरो संवाद गर्न नसकिएको उनीहरूको भनाइ छ। ‘मतदाता भेट्न जाँदा फोटो खिचाउने भीड लाग्छ, समस्या सुन्न समय नै हुँदैन,’ सचिवालयका एक सदस्यले बताए। आफ्नै समर्थकबाट असहज अवस्था सिर्जना हुने महसुस भएपछि आकस्मिक कार्यक्रममार्फत भेटघाट थालेको उनी निकटस्थहरूको दाबी छ।
माघ ५ गते बिहान दमकस्थित चिया बगान क्षेत्रको सुकुमबासी बस्तीमा उनले एक घण्टा आकस्मिक भेटघाट गरेका थिए, जहाँ उल्लेख्य भीड देखिएको थिएन। सोही दिनपछि स्थानीय कार्यकर्तालाई जानकारी नदिई उनी विराटनगर पुगेका थिए। बुधबार करिब ११ बजे विराटनगर आइपुगेका उनी दिउँसो ३ बजे काठमाडौं उडेका थिए। करिब चार घण्टा एयरपोर्ट नजिकैको होटलमा बसेका उनलाई समर्थकले पत्तो पाएनन्। टोलीले सूचना चुहिएर भीड बढ्ने डर रहेको जनाएको थियो।
यसअघि सोमबार दिनभर झापा–५ का विभिन्न स्थानमा पुगेका बालेनलाई मतदाताले भूमिहीन तथा सुकुमबासी समस्या, शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारका विषय उठाएका थिए। पहिले चुपचाप हात हल्लाउँदै हिँड्ने बालेन अहिले भने मतदातासँग प्रत्यक्ष प्रश्नोत्तर गर्न थालेका छन्। सार्वजनिक सभाहरू सकेपछि पुनः निर्वाचन क्षेत्रमा केन्द्रित हुने योजना रहेको उनका निकटस्थहरूको भनाइ छ।
