• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

वीरगञ्जमा कर्फ्यु आदेश जारी


  • धनकुटा खबर
  • .

पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा सुरक्षा अवस्था गम्भीर बनेपछि स्थानीय प्रशासनले आज सोमबार बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले पछिल्लो सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै बिहान ९:४५ बजेदेखि लागू हुने गरी महानगरका मुख्य क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशमा अर्को सूचना नभएसम्मका लागि सर्वसाधारणको आवतजावत र भेला हुन पूर्ण प्रतिबन्ध लगाइएको छ।

प्रशासनले कर्फ्यु लागू हुने क्षेत्रको चार किल्ला समेत स्पष्ट पारेको छ। जसअनुसार पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा नेपाल-भारत सीमा नजिकैको शङ्कराचार्य गेटभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लगाइएको छ। यो सिमाना भित्र कसैले पनि आवतजावत गर्न, कुनै पनि प्रकारको जुलुस निकाल्न, सभा-सम्मेलन गर्न, बैठक बस्न वा घेराउ जस्ता गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कडा कदम चालिएको हो।

कर्फ्यु आदेश जारी भए पनि मानवीय संवेदनशीलता र अत्यावश्यक सेवालाई भने प्रशासनले खुकुलो बनाएको छ। एम्बुलेन्स, दमकल, शव वाहन र स्वास्थ्यकर्मीका सवारी साधनहरूलाई निर्वाध रूपमा चल्न दिइनेछ। त्यस्तै सञ्चारकर्मी, विश्वविद्यालयका पूर्व निर्धारित परीक्षामा सामेल हुने परीक्षार्थी तथा कर्मचारी, पर्यटकका सवारी साधन र कूटनीतिक नियोगका गाडीहरूलाई पनि सुरक्षाकर्मीले सहजीकरण गर्ने विज्ञप्तिमा उल्लेख छ।

हवाई टिकट भएका यात्रुहरूको हकमा उनीहरूको यात्रा प्रभावित नहोस् भन्नका लागि आवागमनमा अवरोध नगर्ने नीति प्रशासनले लिएको छ।

पछिल्ला केही घटनाक्रमले वीरगञ्जमा सुरक्षा चुनौती थपेको र सामाजिक सद्भावमा आँच आउन सक्ने सम्भावना देखिएपछि प्रशासनले यो कठोर निर्णय लिनुपरेको बुझिएको हो। अहिले वीरगञ्जका मुख्य चोक र गल्लीहरूमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

आदेश उल्लंघन गर्नेलाई कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖