काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश, संविधान र शान्ति प्रक्रियाविरुद्ध गतिविधि गर्ने शक्तिविरुद्ध जान कांग्रेस र एमालेसँग समेत संवाद गर्नुपर्ने बताएका छन्।
बुधबार पेरिसडाँडामा आयोजित वाम बुद्धिजीवीहरूसँगको छलफल कार्यक्रममा बोल्दै उनले राष्ट्रिय हितका सवालमा पुराना सहयात्री दलहरूसँग सहकार्यको सम्भावना खुला राखेका हुन्।
प्रचण्डले संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी–समानुपातिक प्रणालीको प्रमुख प्रवक्ता आफ्नो पार्टी रहेको दाबी गर्दै ती उपलब्धिहरूलाई जोगाउन व्यापक राजनीतिक समझदारी आवश्यक पर्ने बताए। “सिंहदरबारदेखि देश जलाउने दलाल शक्तिहरूबाट देश, संविधान र शान्ति प्रक्रिया बचाउन कांग्रेस र एमालेसँग पनि कुरा गर्नुपर्ने हुन्छ,” उनले भने, “ती हिजोका हाम्रा सहयात्री हुन्। वैदेशिक दलाल शक्तिविरुद्ध जाने हदसम्म संवाद गर्नुपर्नेछ।”
उनले राष्ट्रको स्वतन्त्रता, स्वाधीनता र स्थिरता जोगाउन राष्ट्रिय एकताको आवश्यकता औंल्याए। अहिलेको राजनीतिक परिस्थितिमा अनुभवी र स्वच्छ छवि भएका नेतृत्वको आवश्यकता रहेको उल्लेख गर्दै उनले नेपाल कम्युनिस्ट पार्टी नै त्यसको नेतृत्व गर्न सक्षम रहेको दाबी गरे।
प्रचण्डले हालै विभिन्न समूहहरूको एकीकरणलाई ऐतिहासिक उपलब्धि भन्दै २५–२६ वटा साना–ठूला समूह एक ठाउँमा आउनु नेपालको राजनीतिक इतिहासमै पहिलो भएको दाबी गरे। ती सबै समूह सक्रिय रूपमा अघि बढिरहेको उल्लेख गर्दै उनले आगामी दिनमा पार्टी अझ सशक्त रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा उनले देशलाई अस्थिरता र विखण्डनतर्फ लैजान खोज्ने शक्तिविरुद्ध राजनीतिक एकता र स्पष्ट धार आवश्यक रहेको पनि बताए। राष्ट्रिय हित र लोकतान्त्रिक उपलब्धिहरूको रक्षा नै आफ्नो पार्टीको प्रमुख एजेन्डा रहेको उनको भनाइ थियो।
