• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

चौथो पटक एमाले प्रवेश गरे शाही


  • धनकुटा खबर
  • .

सुर्खेत । दैलेखका एक नेता एउटै पार्टीमा चार पटक प्रवेश गरेर रेकर्ड राखेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य रहेका तर्कबहादुर शाही पुनः एमाले प्रवेश गरेका हुन् । एमाले सचिव तथा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले शाहीलाई बुधबार पार्टी प्रवेश गराएको बताइएको छ ।

शाही कुनै बेला नेमकिपाको राजनीति गर्थे । बिचमा कांग्रेस हुँदै ५० को दशकको सुरुवातमा एमाले प्रवेश गरे । त्यसपछि एमाले विभाजन हुँदा उनी माले भए । पुनः बिचमै एमाले प्रवेश गरेका शाही ०७८ मा एमाले विभाजन भएपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा गए ।

त्यसपछि बिचैमा ०७९ को स्थानीय तहको चुनावताका पुनः एमाले प्रवेश गरे । ०८० कात्तिकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला प्रधानमन्त्री कार्यालयमै पुगेर माओवादी प्रवेश गरेका थिए ।

माओवादी अहिले नेपाली कम्युनिस्ट पार्टीका नाममा अस्तित्वमा छ । उनी उक्त पार्टीमा दैलेखबाट केन्द्रीय सदस्य थिए ।

‘उनी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा दैलेख—२ मा उम्मेदवार बन्न चाहन्थे,’ एक नेता भन्छन्, ‘तर उनको सधैँ अस्थिर राजनीतिले जनतामा खासै प्रभाव छैन, उनका अघिपछि कोही पनि छैनन्।’

पार्टीले टिकट नदिएपछि रुष्ट भएका उनी बुधबार चौथो पटक एमाले प्रवेश गरे ।

दैलेखी कम्युनिस्ट आन्दोलनका योद्धाका रूपमा चिनिने शाही आफूसँगै आफ्नी श्रीमती सुस्मिता सिंहलाई पनि सँगै पार्टी प्रवेश गराउने गरेका छन् ।

सिंह एमालेबाट ०७४ मा ठाटीकाँध गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएकी थिइन् । ‘उहाँका अघिपछि पनि कोही छैन, आफ्नो श्रीमतीलाई मात्रै सँगै लिनुहुन्छ,’ एमाले दैलेखकी एक नेता भन्छन्, ‘घुमिफिरी चौथो पटक एमालेमै आउनुभयो, अब पार्टी प्रवेश गर्नुहुन्न भन्ने विश्वास छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖