काठमाडौ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत दाङ क्षेत्र नम्बर–२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विपिनकुमार आचार्यले फराकिलो अग्रता कायम गरेका छन्।
हालसम्म २२ हजार मत गणना हुँदा आचार्यले १० हजार १०७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार शंकर पोखरेलले ४ हजार ७५५ मत प्राप्त गरेका छन्। यससँगै आचार्य पोखरेलभन्दा झण्डै दोब्बर मतले अगाडि रहेका छन्।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरेले ३ हजार ३७० मत प्राप्त गरेका छन् भने नेकपाका उम्मेदवार निर्मल आचार्यले २ हजार ८४८ मत प्राप्त गरेका छन्।
दाङ–२ मा विपिन आचार्यले सुरुवाती अग्रतालाई कायम राख्दै मतान्तर पनि निरन्तर बढाउँदै लगेका छन्। यस निर्वाचन क्षेत्रमा कुल ८२ हजार ६०० मत खसेको थियो। मतगणना प्रक्रिया अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
