काठमाडौ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत दाङ क्षेत्र नम्बर–२ मा रास्वपाका उम्मेदवार विपिन कुमार आचार्य विजयी भएका छन्। उनले ३९ हजार ५५५ मत प्राप्त गर्दै एमाले महासचिव पोखरेललाई फराकिलो मतान्तरले पराजित गरेका हुन्। पोखरेलले १९ हजार ५०२ मत प्राप्त गरेका छन्।
पराजयपछि पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै निर्वाचनको जनादेश रास्वपाको पक्षमा गएको बताएका छन्। जनताले “नयाँबाट केही हुन्छ कि” भन्ने विश्वासका साथ रास्वपालाई मत दिएको उनले उल्लेख गरेका छन्।
पोखरेलले रास्वपाका प्रस्तावित प्रधानमन्त्री उम्मेदवार बालेन शाहसहित निर्वाचित सम्पूर्ण प्रतिनिधिहरूलाई सफल कार्यकालको शुभकामना पनि दिएका छन्। साथै आफू उम्मेदवार रहेको क्षेत्रमा पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरूले गरेको मेहनत र सहयोगप्रति आभार व्यक्त गरेका छन्।
उनले दाङ–२ बाट विजयी भएका विपिन आचार्यलाई विशेष रूपमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक हुने उल्लेख गर्दै पोखरेलले निराश नहुन र सकारात्मक सोचका साथ आफ्नो कर्तव्यमा निरन्तर लागिरहन सबैलाई आग्रह गरेका छन्।
