• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

सोविता गौतमको चुनावी खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ


  • धनकुटा खबर
  • .

काठमाडौ । चितवन–२ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सोविता गौतमले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन आयोगमा पेस गरेकी छन्। उनले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगद्वारा स्वीकृत आचारसंहिताअनुसार चुनावी अभियानका क्रममा गरिएको खर्चको विवरण सार्वजनिक गरेकी हुन्।

जिल्ला निर्वाचन कार्यालय चितवनमा बुझाइएको विवरणअनुसार गौतमले मनोनयन दर्ताका लागि ५ हजार रुपैयाँ खर्च गरेकी छन्। त्यस्तै प्रचार–प्रसार सामग्रीमा २ लाख ९६ हजार ८ सय रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

मतदाता प्रशिक्षण कार्यक्रमका लागि एक दिनमा २० हजार रुपैयाँ खर्च गरिएको छ भने नमूना मतपत्र तथा घोषणा–पत्र छपाइमा ६८ हजार २ सय रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ। त्यसैगरी २८ वटा वडामा गरिएको वडा–स्तरीय प्रचार–प्रसारमा १ लाख ८ हजार रुपैयाँ खर्च गरिएको जनाइएको छ।

चुनावी अभियानका क्रममा सवारी साधन तथा चालक व्यवस्थापनका लागि १५ दिनमा ३ लाख २५ हजार रुपैयाँ खर्च भएको उल्लेख छ। सचिवालय प्रयोजनका लागि स्टेसनरी सामग्रीमा २३ हजार ४ सय ४५ रुपैयाँ खर्च गरिएको छ भने खाद्यान्न, रासन तथा पानीमा १ लाख १८ हजार रुपैयाँ खर्च गरिएको विवरणमा जनाइएको छ।

यसरी निर्वाचन अवधिभर उम्मेदवार गौतमले गरेको कुल चुनावी खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ रहेको विवरणमा उल्लेख गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖