काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदलाई मन्त्री नबनाउने तयारी गरेको छ। पार्टीका उच्च स्रोतका अनुसार शीर्ष नेताहरुबीच यसबारे सैद्धान्तिक सहमति भइसकेको छ।
रास्वपाले प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी १८२ सिट जितेको छ। बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्री बनाउने सहमति भइसकेको र नयाँ मन्त्रिपरिषदमा विषयगत विज्ञताका आधारमा मन्त्री चयन गरिने तयारी भइरहेको छ।
प्रत्यक्षतर्फ निर्वाचित सांसदमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, अर्थतन्त्र, परराष्ट्र, कानुन लगायतका क्षेत्रका विज्ञहरु रहेका छन्। समानुपातिक सांसदमा पनि केही विज्ञ छन्, तर पार्टीले परिणाम दिन सक्ने व्यक्तिलाई मात्रै मन्त्री बनाउने योजना बनाएको छ।
निर्वाचन आयोगले समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिसकेको छ भने चैत १२ गते शपथ ग्रहण र १५ गते संसदको पहिलो बैठक आह्वान गर्ने तयारी संसद सचिवालयले गरिरहेको छ। नयाँ सरकार गठन यही प्रक्रियापछि हुने अपेक्षा गरिएको छ।
