• Thursday 8th of October 2026

एमालेको ब्यानरमा राख्न छाडियो अध्यक्ष ओलीको फोटो


  • धनकुटा खबर
  • .

काठमाडौं, वैशाख ८ । नेकपा एमालेले पार्टी कार्यक्रमको पोस्टरबाट अध्यक्ष केपी शर्मा ओलीको तस्बिर हटाउन थालेको छ।

एमालेले बुधबार ७७ औं स्थापना दिवस मनाउँदैछ।

नेकपा स्थापना दिवसको सन्दर्भमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा अध्यक्ष ओलीको तस्बिर प्रयोग गरिएको छैन।

त्यहाँ एमालेले नेकपाका संस्थापकहरू पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको श्यामस्वेत तस्बिर राखिएको छ।

एमालेले सधैं राख्दै आएको मनमोहन अधिकारी र मदन भण्डारीको तस्बिर पनि यसपटक प्रयोग गरिएको छैन।

एमाले नेतृत्व परिवर्तनको बहस सघन भइरहेको छ। सचिवालय तहका नेताहरू नै अध्यक्ष ओलीको विकल्प खोज्नुपर्ने बताइरहेका बेला ओलीको तस्बिर नराखिनुलाई अर्थपूर्ण रूपमा लिनुपर्ने एमालेका नेताहरू बताउँछन्।

२०७१ साउनबाट पार्टी सत्तामा आएयता पार्टीका हरेक कार्यक्रममा ओलीको तस्बिर प्रयोग हुन्थ्यो। पार्टीको सभा, सम्मेलन, महाधिवेशनमा मात्र नभइ तहगत कमिटीले पनि ओलीको तस्बिर प्रयोग गरेर तुल ब्यानर प्रयोग गर्थे।

गत भदौ २३ गते जेनजी आन्दोलनमा राजकीय सत्ताबाट ओली विस्थापित भएयता एमालेले उनको फोटो कम प्रयोग गर्न थालेको छ। यसपटकको निर्वाचनमा एमालेले ओलीलाई प्रधानमन्त्रीकै उम्मेदवार बनाए पनि निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले उनको फोटो राखेका थिएनन्।

पहिले एमालेले पार्टी कार्यक्रममा पहिलो तस्बिर पुष्पलालको, दोस्रो मदन भण्डारीको, तेस्रो मनमोहन अधिकारीको राख्ने गरेको थियो। त्यसपछि अवस्था हेरेर अध्यक्ष ओलीको राख्ने गरेको थियो।

अध्यक्ष ओलीको फोटो राख्नेबारे एमालेले २०८० सालमा एउटा परिपत्र नै गरेको थियो।

जसमा कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षबाहेक अन्य फोटो प्रयोग नगर्ने उल्लेख थियो।

त्यस्तै कार्यक्रम व्यवस्थित गर्न मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथि र वक्ताहरुलाई दर्शकदीर्घामा नै मर्यादित ढंगले आसनको व्यवस्था मिलाउने, कार्यक्रममा तथा कार्यक्रम सुरू भएपछि आसन ग्रहणको उद्घोषण गरिरहेन परम्परा अन्त्य गर्ने, कार्यक्रममा ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भडकिलो नबनाउने आदि उल्लेख थियो।

तत्कालीन पार्टी उपमहासचिव विष्णु रिमालले नै यस्तो आचारसंहिता बनाउनुपर्ने अवस्था आएको बताएका थिए।

मंगलबार उनैले सार्वजनिक गरेको नेकपा स्थापना दिवसको कार्यक्रमको पोस्टरमा ओलीको तस्बिर प्रयोग गरिएको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖