काठमाडौँ । पूर्वसञ्चारमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले स्मार्ट टेलिकमको ३० अर्ब रुपैयाँ घोटालासँग आफ्नो नाम जोडेर लगाइएको आरोप निराधार भएको बताएका छन्।
सोमबार संसद् बैठकमा बोल्दै उनले स्विजरल्याण्ड भ्रमणलाई लिएर सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आपत्ति जनाएका हुन्।
खरेलले आफू सभामुखलाई लिखित जानकारी दिएर नै विदेश गएको उल्लेख गर्दै भ्रमणलाई ‘स्मार्ट टेलिकमको ३० अर्ब मिलाउन गरिएको गोप्य यात्रा’ भनेर प्रस्तुत गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे।
‘स्मार्ट टेलिकमको ३० अर्ब ठगीमा मेरो संलग्नता त परै जाओस्, एउटा मिटिङ मात्र राखेको प्रमाणित भए पनि म राजनीतिबाटै अलग हुन्छु,’ उनले संसद्मा भने।
उनले केही सञ्चारमाध्यमले गैरजिम्मेवार ढंगले समाचार सम्प्रेषण गरेको आरोप लगाउँदै ‘सी ग्रेडको पत्रकारिता’ नगर्न चेतावनीसमेत दिए। साथै, यस विषयले संसद्, पार्टी र आफ्नो प्रतिष्ठामाथि आघात पुगेको भन्दै प्रेस काउन्सिललाई आवश्यक कारबाही अघि बढाउन आग्रह गरे।
