• Wednesday 7th of October 2026

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते


  • धनकुटा खबर
  • .

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा गएराति तीन सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार राति करिब ११ः३० बजे काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको क्रममा सडकमा रोकिराखिएको बा ०३–००१–००६ ख २०५६ नम्बरको ट्रकलाई बागलुङतर्फ गइरहेको बा ०१–००६ ख ७४९९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। त्यसलगत्तै काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०१–००६ ख ६७१६ नम्बरको अर्को बसले पनि सोही बसलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय गजुरी, प्रहरी चौकी बैरेनी र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको थियो। उनीहरूलाई प्रारम्भिक उपचारका लागि बैरेनी अस्पताल र स्मारिका मेडिकल हलमा लगिएको थियो।

प्रहरीका अनुसार घाइतेमध्ये ३ जना सामान्य उपचारपछि घर फर्किएका छन् भने बाँकी ३४ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ। तीमध्ये २८ जनाको राष्ट्रिय ट्रमा सेन्टर र महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ भने अन्य ६ जनालाई विभिन्न अस्पतालमा रिफर गरिएको छ।

दुर्घटनामा संलग्न तीनवटै सवारी साधनमा कुल ६८ जना यात्रु सवार रहेका थिए।

घटनापछि बस र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा पर्वत कुश्माका ३२ वर्षीय शिव थापा, ललितपुरका ४५ वर्षीय पुरुषोत्तम तिमिल्सिना शर्मा तथा रौतहटका २८ वर्षीय प्रमोद चौधरी रहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖