• Wednesday 7th of October 2026

विद्यालयमा नयाँ कार्यतालिका जारीः घटाइयो बिदा, प्रार्थना र खाजा समय निर्धारण


  • धनकुटा खबर
  • .

काठमाडौँ । सातामा दुई दिन सार्वजनिक बिदा लागू गर्ने सरकारको निर्णयपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ।

मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मंगलबार परिपत्र जारी गर्दै सबै शैक्षिक संस्थालाई स्वीकृत पाठ्यक्रमअनुसार कार्यघण्टा मिलाएर पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको हो।

मन्त्रिपरिषद्ले २०८२ चैत २२ गते गरेको निर्णयअनुसार शैक्षिक सत्र २०८३ देखि विद्यालयमा साताको दुई दिन बिदा दिने व्यवस्था लागू गरिएको थियो। सोही निर्णय कार्यान्वयनका लागि नयाँ कार्यतालिका तयार पार्न मन्त्रालयले शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तह र विद्यालयहरूलाई परिपत्र पठाएको जनाएको छ।

परिपत्रअनुसार विद्यालयहरूले अब निम्न व्यवस्था अनिवार्य रूपमा लागू गर्नुपर्नेछः

– दैनिक १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समय व्यवस्थापन गर्नुपर्ने।
– सोमबारदेखि शुक्रबारसम्म पूर्ण रूपमा पठनपाठन तथा शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्ने।
– हिउँदे र बर्खे बिदा ४५ दिनबाट घटाएर ३० दिनमा सीमित गरिएको।
– पहिलो र दोस्रो त्रैमासिक आन्तरिक मूल्याङ्कन पठनपाठनमा असर नपर्ने गरी सञ्चालन गर्न सकिने।
– अन्तिम परीक्षा र नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिम १२ दिन उपयोग गर्नुपर्ने।
– प्रत्येक शुक्रबार समुदाय, परिवार, सूचना प्रविधि तथा बहुविषयमा आधारित परियोजना र प्रयोगात्मक कार्य सञ्चालन गरी आवश्यकताअनुसार प्रस्तुति गराउने व्यवस्था मिलाइने।

केन्द्रले परियोजना तथा प्रयोगात्मक कार्य सञ्चालनका लागि पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा उपलब्ध ‘परियोजना तथा प्रयोगात्मक कार्य सञ्चालन सहजीकरण पुस्तिका, २०८२’ उपयोग गर्न सकिने जनाएको छ। साथै स्थानीय तह, विद्यालय र शिक्षकले स्वीकृत पाठ्यक्रमको विषयक्षेत्र समेटेर परियोजना कार्य निर्माण तथा कार्यान्वयन गर्न सक्ने व्यवस्था पनि गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖