• Sunday 29th of November 2026

बंगालको खाडीमा एक साताअगाडि नै आयो मनसुन, नेपालमा पनि भित्रँदैछ छिट्टै?


  • धनकुटा खबर
  • .

काठमाडौ । दक्षिणी बंगालको खाडीमा एक साताअगाडि नै मनसुन भित्रिएको छ। जसका कारण नेपालमा पनि एक साताअघि नै मनसुन भित्रने सम्भावना देखिएको छ।

भारतीय टापु अण्डमान तथा निकोबार क्षेत्रमा एक साताअगाडि नै मनसुन भित्रिएको हो। दक्षिणी बंगालको खाडीमा सामान्यतया २२ मेमा मनसुन भित्रने गर्छ। यसपटक शनिबार नै अर्थात् १६ मेमै भित्रिएको छ।

नेपालमा साधारणतया १३ जुनमा मनसुन भित्रने जल तथा मौसम विज्ञान विभागले बताउने गरेको छ। गत वर्ष २९ मे अर्थात् जेठ १५ गते नै भित्रिएको थियो। यो सामान्यतया १५ दिनअगावै हो।

मौसमविद् विनोद पोखरेलले यसपटक पनि मे महिनाको अन्तिमसम्म नेपालमा मनसुन भित्रन सक्ने पूर्वानुमान गरेका छन्। यद्यपि मनसुनको विकास र गतिले तलमाथि पार्ने हुँदा अहिले नै यकिन गर्न भने सकिँदैन।
‘यस वर्षको मनसुन दक्षिणी बंगालको खाडीमा साामान्यभन्दा लगभग एक हप्ता अगाडि सुरू भएको छ।

हालको पूर्वानुमानले यो मे महिनाको अन्त्यसम्ममा पूर्वी नेपालमा प्रवेश गर्न सक्ने सुझाव दिन्छ यद्यपि, यो पूर्वानुमान आगामी दिनहरूमा परिवर्तन हुन सक्छ,’ उनले भने।

गत वर्ष नेपालमा मनसुन १३४ दिन रहेर असोज २४ मा बाहिरिएको थियो।

गत वर्ष पनि नेपालमा मनसुन याममा औसतभन्दा कम नै वर्षा भएको थियो। यस वर्ष पनि मौसमी प्रणालीमा आएको फेरबदल; खासगरी एल–निनो प्रणालीका कारण मनसुन ऋतुमा औसतभन्दा कम वर्षा हुने र असौतभन्दा बढी गर्मी हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖