• Thursday 8th of October 2026

रविलाई विष्णु रिमालको आग्रह- निराशामा खेल्नुभन्दा उभिने जमिन कता हो स्पष्ट पार्नुस्


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले रास्वपा सभापति रवि लामिछानेलाई जनताको निराशामा नखेल्न आग्रह गरेका छन्।

सभापति लामिछानेले ८४ को निर्वाचनपछि नीति बनाउने नभइ नीति अनुसार काम गर्ने भन्दै नीति मन्थनमा जुटेपछि उपमहासचिव रिमालले यस्तो आग्रह गरेका हुन्।

उनले भनेका छन्, ‘प्रिय रविजी, पार्टी निर्माणको प्रक्रियामा पनि यस्तै हुने गर्छ । सुरुमा ‘तिनीहरुले गरेनन् भन्दै निराशामा खेल्ने, त्यसपछि आफूलाई ‘क्रुसेडर’को रुपमा प्रस्तुत गर्ने र अन्त्यमा ‘जमिन’मा उभिने– कता जाने हो, के गर्न चाहेको हो, रहस्य खोल्ने ।’

इतिहासमा टिकेका सबै पार्टीहरु यस्तै प्रक्रियाबाट गुज्रिएको भन्दै अजेण्डामा पोखिएपछि जनताले तिनीहरुको ‘रङ्ग’ थाहा पाउँने भएकाले त्यसपछि ‘कित्ता–काट’को प्रक्रियामा प्रवेश गर्ने उनको भनाइ छ।

उनले भनेका छन्, ‘लाग्छ, अहिले तपाईंहरु पार्टी निर्माणको “प्राकृतिक” प्रक्रियामा प्रवेश गर्दै हुनुहुन्छ, धेरैधेरै शुभकामना । अन्यथा मान्नु हुन्न भने एउटा ‘अनसोलिसिटेड’ सल्लाह दिउँ रु अरुले गरेका थिएनन् हामीले गर्दैछौं– यो ‘भाका’ चाहिँ अलि पुरानो हो, तपाइँहरुजस्तो नयाँ’लाई अलि ‘सुट’ गर्दैन कि १ अरुले के गरेका थिए, ‘बाल’ दिनोस् । आफूहरु के गर्दै हुनुहुन्छ, त्यो चाँहि बताउनुस् । “प्रक्रिया” न हो, त्यहाँ नयाँ या पुरानो भन्ने हुन्न । सबैले त्यो बाटो नहिँडी सुखै छैन । हो, को कति “स्मार्ट” भन्ने चाहिँ हुन्छ– जो बढी “स्मार्ट” हुन्छ, त्यसैले “टक्लु’लाई काइँयो” बेच्छ ।’

उनले रविलाई आग्रह गर्दै माओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटीलाई प्रसंग स्मरण गरेका छन्।उनले थपेका छन्, ‘जिल्लावासी, पुरानो चिनजान र एउटै निर्वाचन क्षेत्रको प्रतिस्पर्धी भएको नाताले एकदिन मैले उहाँलाई सोधें– माओवादी पार्टीले विगतमा एमालेले गरेका ‘गल्ति–कमजोरी’लाई नदोहर्‍याए हुन्न दाइ ? उहाँले शालीनतापूर्वक भन्नुभयो विष्णुजी, तपाईंहाम्रो गाउँमा हरेक घरका आमाहरुले बच्चालाई झोलुङ्गोमा हालिदिएर घाँसपात गर्न जान्थे । आमा आउनुअघि बच्चा उठ्थ्यो, रुन्थ्यो, थाक्थ्यो, त्यहीँ दिसा–पिसाव गर्थ्यो र कतिपय बच्चाले त दिसा समेत खान्थे । पछि आमा हुनेहरुले आफ्ना पालामा यसबाट शिक्षा लिए हुने नि ! पछि जन्मिएका बच्चाले पनि त्यसो नगरे हुने नि ? तर के गर्ने, नगरी जानिन्न । यो त नियमित चक्र रहेछ । स्व. पोष्टबबादुर बोगटीको यो भनाई कति मननयोग्य छ हगि ?’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖