काठमाडौ । एमाले अध्यक्ष केपी शर्मा ओली अहिले आफ्नै पार्टीभित्र गम्भीर राजनीतिक संकटमा परेको संकेत देखिएको छ। महाधिवेशनमा आफ्नै प्यानलबाट निर्वाचित भएका नेताहरूले नै अब नेतृत्व परिवर्तन आवश्यक रहेको धारणा राख्न थालेपछि ओलीमाथि दबाब तीव्र बनेको हो।
गत मंसिरमा सम्पन्न एमालेको ११ औँ महाधिवेशनमा ओली प्यानलबाट उपाध्यक्ष जितेका रामबहादुर थापा, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्तमध्ये अहिले थापाबाहेक सबै नेताहरू ओलीविरुद्ध उभिएको चर्चा एमाले वृत्तमा चर्किएको छ। विशेषगरी विष्णु पौडेललाई संकटका बेला ओलीको सबैभन्दा विश्वासिला सहयात्रीका रूपमा हेरिन्थ्यो।
शुक्रबार भक्तपुरको गुण्डुस्थित ओली निवासमा बसेको सचिवालय बैठकमा उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्तले ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए। उनीहरूले वर्तमान नेतृत्वबाट एमाले अघि बढ्न नसक्ने निष्कर्षसहित पार्टी पुनर्गठनको आवश्यकता औँल्याएका थिए।
उनीहरूको धारणा समर्थन गर्दै उपाध्यक्ष गोकर्ण विष्टले पनि ओलीले पद त्याग गर्नुपर्ने मत राखेको बताइएको छ। यससँगै एमालेभित्र ओलीविरुद्धको असन्तुष्टि अब औपचारिक रूपमा सतहमा आएको विश्लेषण भइरहेको छ।
महाधिवेशनमा दुईतिहाइ सचिवालय र केन्द्रीय सदस्य आफ्नो पक्षमा जिताएका ओली अहिले भने आफ्नै टोलीभित्रबाट चुनौती खेपिरहेका छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा चुनावमा एमाले नराम्ररी पराजित भएपछि पार्टीभित्र ओलीको नेतृत्वमाथि प्रश्न उठ्न थालेको थियो। २०७९ को चुनावमा ७८ सिट जिताएको एमाले यसपटक २५ सिटमा खुम्चिएपछि नैतिकताका आधारमा ओलीले राजीनामा दिनुपर्ने आवाज बलियो बनेको थियो।
तर ओलीले पद नछोड्ने संकेत दिएपछि पार्टीभित्र वैकल्पिक शक्ति केन्द्र निर्माणको प्रयास सुरु भएको नेताहरूको दाबी छ। यसैबीच चैत १३ गते राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठन भएपछि जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएको थियो। सोही आधारमा गृहमन्त्री सुधन गुरुङले ओली पक्राउ गर्न निर्देशन दिएको र चैत १४ गते गुण्डु निवासबाटै ओली पक्राउ परेको उल्लेख गरिएको छ।
कमजोर स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमा बसेपछि सर्वोच्च अदालतको आदेशबाट ओली रिहा भएका थिए। तर पार्टीभित्रको राजनीतिक संकट भने त्यसपछि झन् गहिरिएको नेताहरू बताउँछन्।
ओलीविरुद्ध नेताहरू सक्रिय हुन थालेपछि उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः सक्रिय राजनीतिमा ल्याउने रणनीति अघि सारेको चर्चा छ। वैशाख २८ गते गुण्डुमा ओली र भण्डारीबीच लामो छलफल भएको र त्यसपछि रोकिएको सदस्यता नवीकरण प्रक्रिया अघि बढाइएको स्रोतहरूको दाबी छ।
ओलीले भण्डारीलाई पुनः पार्टी संरचनामा जिम्मेवारी दिने तयारी गरिरहेको चर्चा एमालेभित्र छ। तर भण्डारी स्वयंले भने आफू निकट नेताहरूसँग एमाले पुनर्गठन गरेर अघि बढ्नुपर्ने धारणा राख्दै आएको बताइएको छ।
शुक्रबारको सचिवालय बैठकमा ओली र उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङबीच चर्काचर्कीसमेत भएको दाबी गरिएको छ। एक पदाधिकारीका अनुसार गुरुङले “पार्टी र आन्दोलन जोगाउने हो भने तपाईंले राजीनामा दिनुपर्छ” भनेपछि ओली आक्रामक बनेका थिए। त्यसपछि गुरुङले “पार्टी तपाईंको पेवा होइन, कम्युनिस्ट आन्दोलनमा हाम्रो पनि योगदान छ” भन्दै कडा जवाफ फर्काएको स्रोतले जनाएको छ।
एमालेभित्र अहिले नेतृत्व परिवर्तन र पुनर्गठनको बहस तीव्र बनेको छ। सचिवालयका अन्य पदाधिकारीहरूले पनि आगामी बैठकमा ओलीले नेतृत्व छोड्नुपर्ने धारणा राख्ने सम्भावना रहेको नेताहरू बताउँछन्।
पार्टीभित्र लामो समय ओलीसँग उभिएका नेताहरू क्रमशः टाढिँदै जाँदा एमालेको आन्तरिक राजनीति थप पेचिलो बन्दै गएको छ।
