काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद गीतकुमारी सेन्दाङ लाई प्रतिनिधिसभा बैठक कक्षबाट मर्यादापालकहरूले बाहिर निकालेको विषयले संसदमा चर्चा पाएको छ ।
प्रतिनिधिसभा बैठकको फोटो खिचेको आरोपमा मर्यादापालकहरूले सभामुख डोल प्रसाद अर्याल को स्पष्ट आदेशबिना नै सांसद सेन्दाङलाई बैठक कक्षबाट बाहिर निकालेको बताइएको छ ।
सांसद सेन्दाङका अनुसार आफूलाई बाहिर निकालेर मोबाइलमा खिचिएको फोटो डिलिट गर्न लगाइएको थियो । फोटो हटाएपछि मात्रै मर्यादापालकहरूले उनलाई पुनः बैठक कक्षमा प्रवेश गर्न दिएका थिए ।
प्रतिनिधिसभा बैठकमा सांसदहरूले फोटो वा भिडिओ खिच्न नपाउने व्यवस्था भए पनि सभामुखको रुलिङ वा निर्देशनबिना मर्यादापालकहरूले सांसदमाथि प्रत्यक्ष कारबाही गर्न नमिल्ने संसदीय अभ्यास रहेको बताइन्छ ।
तर, उक्त घटनामा सभामुख अर्यालले सांसद सेन्दाङलाई फोटो नखिच्न कुनै औपचारिक रुलिङ नगरेको अवस्थामा नै उनलाई बाहिर निकालिएको भन्दै प्रश्न उठेको छ ।
