• Wednesday 7th of October 2026

प्रधानमन्त्री त कलाकार पनि हो, पैसा तिरेर भए पनि संसदमा ल्याऔँ- सांसद राई


  • धनकुटा खबर
  • .

काठमाडौ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री वालेन्द्र शाहलाई पैसा तिरेर भए पनि संसदमा ल्याउनुपर्ने बताएका छन्।

प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले प्रधानन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न सभामुखलाई दबाब दिँदै आएका छन्। तर प्रधानमन्त्री शाहले संसदमा आएर सांसदको प्रश्नको जबाफ दिन इन्कार गर्दै आएका छन्।

प्रधानमन्त्रीलाई संसदमा ल्याउन माग गर्दै विपक्षीहरूले प्रतिनिधि सभा बैठकमा विरोध गर्दै आएका छन्। श्रम संस्कृति पार्टीले पनि संसदमा प्रधानमन्त्रीलाई उपस्थित गराउन माग गर्दै आएको छ।

‘हामीले हाम्रो प्रधानमन्त्रीको आवाज जनताको बीचमा लैजान पाऊँ। जति महङ्गो भए पनि तिरौँ न। उहाँ कलाकार मान्छे पनि हो। सायद हिजोतिर पैसामा हिँड्ने बानी भएर हो कि, होइन भने देश र जनता प्रति उत्तरदायी हुनुपर्छ,’ उनले भने।

सभामुख डिपी अर्यालले भने प्रधानमन्त्री सांसदको प्रश्नको जबाफ दिन आउने तयारी गरिरहेको बताए। उनले सरकारका प्रतिनिधिहरू मन्त्रीहरु बैठकमै रहेको उल्लेख गर्दै छिट्टै सांसदको प्रश्नको जबाफ दिने बताए।
श्रम संस्कृति पार्टीका सांसद राईले सत्तापक्षका सांसदहरूलाई प्रधानमन्त्रीलाई सम्झाउन आग्रह गरे।

‘तपाईंको गरिमाको कुरा हो सभामुख महोदय, हजुरले के गरिराख्नु भएको छ। विश्वले हेरेको छ’, सांसद राईले भने, ‘हिजो जस्तो दम्भ हो भने अधोगितमा लाग्छ। सम्झाई बुझाई गरि ल्याऔँ प्रधानमन्त्रीलाई।’
सभामुख अर्यालले भने प्रधानमन्त्री सदनमा आएर सांसदको प्रश्नको जबाफ दिने तयारीमा रहेको बताए।

‘माननीय सदस्यहरूले मिति माग्नुभएको छ। सदन चलेको दिन नै आउनुहुन्छ। हाम्रो प्रक्रिया पनि कार्यपालिकाले व्यवस्थापिकालाई सूचना पठाउने नियम छ’, अर्यालले भने, ‘मैले बोल्दै गर्दा आधिकारिकतामा टेकेर गर्ने होला। सरकारको आफ्नो तयारी होला। तयारी भए पछि उहाँले मिति दिनुहुन्छ। त्यसपछि म मिति नै सार्वजनिक गर्छु। अहिले छिट्टै सदनमा आउने र उठाउने प्रश्नको जबाफ दिने भनिराख्नुभएको छ। त्यही नै जानकारी गराइराखेको छु,’ सभामुख अर्यालले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖