• Wednesday 7th of October 2026

कर्मचारीको तलब २१ प्रतिशत नै बढेको हो, ढाँटेका छैनौँ: अर्थमन्त्री वाग्ले


  • धनकुटा खबर
  • .

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारी कर्मचारीको तलब २१ प्रतिशत नै वृद्धि गरिएको स्पष्ट पारेका छन्। बजेट सार्वजनिक भएपछि आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले तलब वृद्धिका विषयमा सरकारले कसैलाई नढाँटेको र नझुक्याएको दाबी गरे।

‘तलब वृद्धि २१ प्रतिशत नै हो, यसमा कसैलाई दुविधा (डाउट) नहोस्। बजारमा सरकारले ढाँट्यो कि क्या हो, झुक्यायो कि भन्ने खालका कुरा उठिरहेका छन्, तर त्यस्तो किमार्थ होइन। सरकार आफ्नो घोषणामा स्पष्ट छ,’ उनले भने।

धेरै क्षेत्रबाट बजेटको आकार ठूलो र महत्वाकांक्षी भएको टिप्पणी भइरहेका बेला अर्थमन्त्रीले त्यसको प्रतिवाद गरे। बजेटको आकार धेरै ठूलो नभएको जिकिर गर्दै उनले भने, ‘बजेट आउनुअघि बजारमा २५ खर्बको बजेट आउँदैछ भन्ने व्यापक हल्ला थियो। तर, हामीले अर्थतन्त्रको जगलाई हेरेर २१ खर्बको हाराहारीमा बजेट ल्याएका छौँ। त्यसैले आकारका हिसाबले यो बजेट महत्वाकांक्षी होइन, यथार्थपरक छ।’

बजेटले देशलाई थप ऋणको भार थप्यो भनी भइरहेको आलोचनाबारे स्पष्ट पार्दै अर्थमन्त्री वाग्लेले विगतको तुलनामा ऋण व्यवस्थापन सन्तुलित रहेको बताए। ‘भूकम्प र कोरोना महामारीको संकटकालीन समयमा हाम्रो ऋण बेस्सरी बढेको कुरा सत्य हो, तर अहिलेको स्थिति त्यतिबेलाको भन्दा निकै कम छ,’ उनले थपे, ‘यसपालि हामीले ४१० अर्ब रुपैयाँ आन्तरिक र २४७ अर्ब रुपैयाँ बाह्य ऋण लिने लक्ष्य राखेका छौँ। अचम्मको कुरा के छ भने, यो नयाँ लिइने ऋणमध्ये ठूलो हिस्सा विगतमा थोपरिएको पुरानो ऋणको साँवा-ब्याज तिर्नमै खर्च हुनेछ।’

अर्थमन्त्रीका अनुसार आगामी आर्थिक वर्षमा मात्रै सरकारले ७२ अर्ब रुपैयाँ वैदेशिक ऋण चुक्ता गर्ने तयारी गरेको छ। समग्रमा सरकारले ६५७ अर्ब रुपैयाँ ऋण लिने प्रक्षेपण गरेको भए पनि पुरानो ऋण तिर्नका लागि मात्रै ३१८ अर्ब रुपैयाँ खर्च हुने अर्थ मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖