काठमाडौँ । प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा ढिला सुरु भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभामुख डीपी अर्याल आन्तरिक छलफलमा व्यस्त रहेकाले समयमै सुरु हुन नसकेको बताइएको छ ।
स्रोतका अनुसार सभामुख अर्यालले आइतबारको बैठकमा संसदीय मर्यादाविपरीत अभिव्यक्ति र व्यवहार देखाएका सांसदहरूमाथि कारबाही गर्ने वा नगर्ने विषयमा सोमबार छलफल गरेका हुन् ।
सभामुखनिकट स्रोतका अनुसार आइतबारको बैठकमा केही सांसदहरूले प्रदर्शन गरेको गतिविधि आपत्तिजनक देखिएकाले त्यसको भिडियो तथा तस्बिर अध्ययन गर्ने काम भइरहेको छ ।
यस विषयमा सभामुखले संसद्का महासचिव र सचिवसँग समेत परामर्श गरेको बताइएको छ । संसदीय नियमावलीअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको स्रोतको दाबी छ ।
आइतबारको प्रतिनिधिसभा बैठकमा ऐन महर, रिगला यादव लगायत केही सांसदहरूले अमर्यादित व्यवहार प्रदर्शन गरेको आरोप लागेको छ ।
यस विषयमा सभामुखको कार्यालयबाट भने औपचारिक निर्णय सार्वजनिक भइसकेको छैन ।
