उदयपुर । श्रम संस्कृति पार्टीका नेता सुदन किराती ले पार्टी अध्यक्ष हर्कराज साक्पाङ लाई देशको प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन्।
मंगलबार उदयपुरको गाईघाटमा पत्रकारहरूसँग कुरा गर्दै किरातीले अब बाहिरबाट ‘हाइब्रिड’ रूपमा निर्माण गरिएका नेता नभई नेपाली माटोमै जन्मिएको ‘अर्गानिक’ नेतृत्वलाई अवसर दिनुपर्ने धारणा राखे।
उनले भने, “अब कतैबाट विजारोपण गरिएको वा हाइब्रिड गरिएको नेता होइन, नेपालकै माटोमा उत्पत्ति भएको अर्गानिक हर्क साम्पाङजस्तो नेतालाई प्रधानमन्त्री बनाउनुपर्छ।”
किरातीले लामो समयदेखि राजनीतिमा स्थापित नेतृत्व पुस्ताप्रति जनताको विश्वास घट्दै गएको र नागरिकहरूले नयाँ नेतृत्वको खोजी गरिरहेको दाबी गरे।
यस क्रममा उनले बालेन्द्र शाह (बालेन) को कार्यशैलीप्रति पनि टिप्पणी गर्दै “फिल्मी शैलीमा काम गर्ने प्रयासले देश र जनतालाई गम्भीर धोका दिएको” आरोप लगाए। उनले योजना बिना गरिब नागरिकमाथि डोजर चलाइएको भन्दै आलोचना गरे।
किरातीको अभिव्यक्तिले आगामी दिनमा वैकल्पिक राजनीतिक नेतृत्व र नयाँ पुस्ताको भूमिकाबारे बहस थप चर्किने संकेत गरेको छ।
