काठमाडौँ । नेपाल–भारत सीमा सम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर उत्पन्न विवादका बीच सरकारले प्रधानमन्त्रीको भनाइको बचाउ गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीको भनाइलाई गलत रूपमा व्याख्या गरिएको दाबी गर्दै उनले नेपालले भारतको भूमि मिचेको भन्ने आशय व्यक्त नगरेको स्पष्ट पारेका छन्।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता पोखरेलले प्रधानमन्त्रीको अभिव्यक्तिबारे उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले कुनै निष्कर्षात्मक दाबी नगरेको बताए।
“प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि मिचेको भनेर भन्नुभएको होइन,” प्रवक्ता पोखरेलले भने, “प्राविधिक वा कूटनीतिक संयन्त्रबाट आएको जानकारी सुनेर आफू अचम्ममा परेको कुरा मात्रै व्यक्त गर्नुभएको हो। उहाँको भनाइलाई फरक ढङ्गले प्रस्तुत गरिएको छ।”
प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिपछि राजनीतिक तथा कूटनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आएका छन्। सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दल तथा केही कूटनीतिक विश्लेषकहरूले प्रश्न उठाएका छन्।
गत जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा सम्बन्धी टिप्पणी गरेपछि त्यसबारे राजनीतिक बहस चर्किएको छ। यस विषयमा सरकार र आलोचक पक्षबीच फरक–फरक धारणा सार्वजनिक भइरहेका छन्।
